लेखकः रोजिता दङ्गाल
हेटाैडा, मकवानपुर
विश्वमा दुई जात महिला अनि पुरुष छन् । सृष्टि सञ्चालन
र यसलाई निरन्तरता दिन यी दुवैको आवश्यकता पर्छ । आजको विश्वमा प्राय सबैभन्दा बढि
सुनिने शब्द, रेडियो, टि.भि.बाट धेरै बज्ने शब्द, अखबारमा धेरै पढ्न पाइने शब्द ‘महिला’ अनि यहि महिलाको पछि आउने शब्द अधिकार,
हिंसा, समता, समानता, सशक्तिकरण आदि इत्यादि । लिङ्गका आधारमा २ जात छन्
महिला अनि पुरुष अनि यहि लिङ्गका आधारमा महिलामाथि समाजका बुजरुकहरुले गर्ने कुनैपनि
किसिमको कार्य जुन नीजि जीवनमा घट्ने गर्दछ । जसले महिलाको शारीरिक, मानसिक वा यौनिक हानी पुर्याउँछ । यसलाई नै
भनिन्छ महिला हिंसा । विश्वमा आधा आकाश ओगटेका
महिलाहरु घर, छिमेक, राज्य, जहाँ सुकै पनि हिंसामा परेका छन् । आजको २१ औं शताब्दि अनि विज्ञान, प्रविधिको युगमा आइपुग्दा पनि नारीहरु आफ्नो हक
र अधिकारका लागि भैतारिहरनु परेको छ । यस पृथ्वीमा बस्ने सम्पूर्ण जनावर, चराचुरुङ्गीहरु बासस्थानमा राती पुगेपछि अनि आफ्नो
साथी, परिवार भेटेपछि सुरक्षित महसुस
गर्छन् तर आज २१ औं शताब्दीको नारी जो आफ्नै घरमा अनि आफ्नै मानव जातिसँग पनि सुरक्षित
महसुस गर्न सकेका छैनन् ।
मानवसभ्यताको उषाकालमा महिला र पुरुषबीच भेदभाव
थिएन । जब समाज शिकारी युग, दास युग, कृषि युग हुँदै सामन्ति, पुँजीवादी युगमा आइपुग्यो महिला र पुरुषको भूमिका तथा दुवैलाई
हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आयो । महिलालाई आमाका रुपमा, छोरीको रुपमा, ममताको खानीको रुपमा
व्याख्या गरिन्छ, तर महिलालाई महिलाको
रुपमा कहिल्यै पनि व्याख्या गरिदैन । आजको २१ औं शताब्दिमा आइपुग्दा पनि महिलामाथिको
हिंसा, पिडा दायक, कष्टकर र जटिल बन्दै गइरहेको छ । विवाह एउटा रमाइलो,
ठट्टाको अनि वैवाहिक बलात्कारको अनुमति पत्र बन्दैछ
। समाजमा हिंसा, भेदभाव, दमनको नयाँनयाँ रुपहरु देखा पर्दैछन् । पहिला जिस्क्याउने,
हल्का कुटपिट गर्ने, हिंडडुल गर्न नदिने, मन दुखाउने कुरा गर्ने, होच्याउने जस्ता विकृति हाल सुन्न पनि लाज, घृणा र मर्माहित हुने भएको छ । आफ्नै बुबाबाट ५
वर्षको छोरीको करणी भएको छ । ९० वर्षको हजुरआमाको आफ्नै नाति वा नाति सरहको व्यक्तिबाट
बलात्कार भएको छ । जुनी जुनी बाँच्ने र साथ दिने कसम खाएर विवाह बन्धनमा बाधिएको नारी
आफ्नै पतिबाट मृत्युवरण गर्न बाँध्य छे । आज एउटी नारी निर्धक्क बाटामा हिँड्न सक्दिनन्,
सुविधारहित यात्रा गर्न सक्दिनन्, नोकरीमा सुरक्षित छैनन् । यहिँबाट प्रष्ट हुन्छ
समाजमा कति विकृति छ भन्ने कुरा मान्छे कति कलङ्कित् हुँदैछ । महिलाको आफ्नै शरिरमाथि
कुनै हक, अधिकार हुदैन, निति निर्णयमा सहभागिता न्युन हुन्छ । आफ्नो नाममा
सम्पति हुँदैन अनि भएको सम्पति पनि पतिलाई या बाबुलाई नसोधी उपयोग गर्न पाउदिनन् ।
छोरी जन्माउनु महिलाकै कमजोरी ठानिन्छ । महिलाहरु धर्तिमा मात्र होइन आमाको कोखबाट
नै हिंसाका शिकार भएका छन् । गर्भमा छोरी भए भ्रुण हत्या गरिन्छ तर छोरा भए भ्रुण हत्या
वा गर्भपतन गराएको घटना छैन । यदि जन्मिहाले भने पनि पलपल, क्षणक्षण विभेद, दमनमा बाँच्न बाध्य हुन्छे । जब उ बढ्दै जान्छे पालनपोषणमा विभेद हुन्छ । छोरो
बोडिङ्ग स्कुल पढ्न जान्छ तर छोरी घरको सबै
काम सकेर मात्र पढ्न पाउँछे । बेलुका घर आएपछि छोरा खाजा खाएर पढ्न वा खेल्न थाल्छ
तर छोरी घर भित्र पस्न नपाउदै ऊ माथि कामको सूचि अगाडि आइपुग्छ । हाम्रो घर,
परिवारमा त छोरीलाई सम्मान, कदर गरिदैन भने घरबाहिरको अवस्था झनै कल्पना गर्न
गा¥हो छ ।
एउटा विद्यालयमा गएकी छोरी शिक्षकबाट बिभिन्न बहानामा
दुव्र्यवहार सहन बाध्य छे । कहिले स्याबासी पाउने नाममा अनि कहिले ट्यूसन पढाउने नाममा
अनि कहिले लेख्न सिकाउने नाममा उ माथि शिक्षण संस्थामा शिक्षक जस्तो पवित्र स्थान अनि
पवित्र व्यक्तिबाट कुदृष्टि र नराम्रो काम हुने गर्दछ । आफैसँग पढ्ने सहकर्मी साथीबाट
समेत ऊ अछुतो रहन पाउँदिन । ऊ यस्तै यस्तै वातावरणमा कष्टकर जीवन व्यति गरिरहेकि हुन्छ
। जब रजस्वला हुन्छ फेरि त्यहाँ अर्कै प्रकारको कष्टकर जीवन सुरु हुन्छ । कसैलाई हेर्न
नहुने, छुन नहुने, दहि, दुध जस्ता पोषिला खाना खान नहुने अझ नेपालको सुदुरपश्चिमा छाउपडि प्रथा जहाँ महिलाहरुलाई
रजस्वला भएको बेला छुट्टै घर वा गोठमा राखिन्छ । न त समयमा खान पाउँछे, न त त्यहाँ सफा वातावरण नै हुन्छ । यस्तै छाउपडी
बसेकै स्थानमा मृत्यु हुन्छ । अनि नेवारी समुदायमा गुफा राख्दा पनि कतिपयको ज्यान जाने
खतरा प्रबल हुन्छ ।
यौवन अवस्थामा ऊ झनै हिंसा, कृदृष्टि अनि दूव्र्यवहार भोग्न वाध्य हुन्छे । प्राकृतिक रुपमा
नै विपरित लिङ्ग एक अर्कामा आकर्षित हुन्छन् तर संयमित हुन नसक्दा त्यो आकषर्णले यौनको
रुप लिन्छ । अनि विवाह अगाडि नै आफ्नो कुमारीत्व,
अस्तित्व
सदाका लागि गायब हुन्छ ।
हाम्रो समाजमा महिलाको स्तर बढाउन, महिला अधिकारका नाममा हुने विभिन्न प्रतियोगिता
तथा स्वतन्त्रताले झनै महिलाको यौन शोषण हुने गर्दछ, । सुन्दरी प्रतियोगिता, मिस नेपाल केवल ठूला उद्योगबाट उत्पादित वस्तुहरुको बिक्री वितरण
बढाउनका लागि गरिने विज्ञापनमा बाहेक अन्य यसको कुनै उद्देश्य छैन । विभिन्न Skin Test का लागि नङ्ग्याइन्छ अनि अङ्ग प्रदर्शन गर्दागर्दा
शुरु हुन्छ धनाढ्य व्यक्तिबाट यौन शोषण अनि त्यहि Skin Test मा लिइएका फोटोहरु फोहोरी फिल्म बन्नमा मद्दत पुग्छ । अनि मेटिन्छ
एउटा नारीको कुमारीत्व, अस्तित्व अनि इज्जत
सदाका लागि । विवाह कसैको जबर्जस्तीमा हुन्छ भने कसैको मञ्जुरीमा नै हुन्छ । जसरी भएपनि
एउटा महिला जुन धर्ति, आँगनमा जन्मेकी हुन्छे
त्यो पराईको हुन्छ । जुन कुल, वंशकी हुन्छे त्यो
कुल वंश उसको अब हुँदैन । आफ्नो नामको पछाडि अर्कैको थर राख्नुपर्छ । म विवाहित नारी
हुँ भनेर चिनाउने पहिरन, श्रृगार गर्नुपर्छ
तर पुरुषले गर्नु पर्दैन । पुरुषको कामवासनाको साधन बन्नुपर्छ नारी । श्रृङ्गार गरेर
राम्री भएर बस्नु, लोग्नेका लागि व्रत
बस्नु, घरको सबै काम गर्नु,
खेतवारीको काम गर्नु, बालबच्चाको पालनपोषण गर्नु अनि नशामा मातेर आएको लोग्नेलाई रिझाउनु
उसको दिनचर्या बन्न पुग्छ । घरको, बच्चाको निर्णय प्रक्रियामा
उसको भूमिका अपरिहार्य महसुस गरिदैन । दाइजो नल्याएको या कम ल्याएको निहुँमा उसको शारिरमाथि
कुटपिट हुन थाल्छ आफ्नै पति, सासुससुराबाट । अनि
कोहिलाई मट्टितेल हालेर मारिन्छ, कहिले कोहिलाई धारिलो
हतियार प्रयोग गरेर मारिन्छ । स–साना कुरामा निहुँ
खोज्दै ऊ माथि अत्याचार सुरु हुन्छ । यदि पत्नीको मृत्यु भएमा त्यहि दिनदेखि नै अर्को
विवाहको कुरा सुरु हुन्छ तर पतिको मृत्यु भएमा विवाहको कुरा हैन उसलाई समाज,
परिवारमा पति टोकुवा भन्दै शिर ठाडो पारेर हिड्न
नहुने बनाइन्छ । अझ पहिलाको समाजमा पतिसँगै सती जानुपर्ने हुन्थ्यो ।
जहिले पनि जो आर्थिक रुपमा कमजोर छ अनि विधवा छ
उसलाई लाग्छ बोक्सीको आरोप । बोक्सीको आरोपमा मलमुत्र खुवाइन्छ, बोक्सी चिन्ने नाममा तातो वस्तुले डामिन्छ । अनि
जब बुढेसकाल लाग्छ उमेर ढल्दै जान्छ उसको नाममा सम्पति हुँदैन भएको सम्पति पनि छोराछोरीको
पालनपोषणमा सकिन्छ । आजको हाम्रो समाजका बुजरुकहरु सम्पति छउञ्जेल मात्र बुढी रोगी
आमालाई पालिरहेका हुन्छन् तर जब सम्पति सकिन्छ घृणा, अपमान बाहेक अरु केहि
दिदैन यो समाज, घर, परिवारले । यसरी एउटा महिला आमाको कोखबाट हुँदै मृत्युवरण नगरुञ्जेलसम्म हिंसा, पिडा, दमन, शोषणमा हुकिर्दै, बढ्दै उसको जीवनको अन्त्य हुन्छ । आजको समाजमा व्यक्तिले
ओछ्यान पायो तर निन्द्रा पाएन, औषधी पायो तर रोग
निको भएन त्यस्तै नेपालमा नियमकानुन बनाइयो तर कार्यान्वयन भएन । महिलाको विषयमा धेरै
सवालहरु उठे, महिला अधिकार,
हिंसा शोषणका विषयमा धेरै प्रश्नहरु तथा बहसहरु
भए तर एउटा अपराधी जो महिलामाथि दुव्र्यवहार गरेर कानुनको कठघरामा उभ्याइन्छ,
चारछाक खुवाएर राखिन्छ अनि शक्ति र पैसाको भरमा
फेरि त्यहि कार्य सुरु गर्न थाल्छ फेरि महिलाको अस्मिता लुट्दै हिड्छ । यहाँको कानुन,
प्रशासन सबै फितलो छ । उत्कृष्ट कानुनको कमि छ र
भएका कानुन पनि व्यवहारमा लागु भएको छैन । पहिलो, दोस्रो, तेस्रो, चौथो महिला सम्मेलनमा नेपालले सहभागिता जनायो ।
विभिन्न घोषणा पत्र, सिड आदिमा बिना शर्त
हस्ताक्षर ग¥यो तर विडम्बना यति
लामो समय भैसक्दा पनि त्यस कार्यपत्र र घोषणापत्रका बुँदाहरुलाई कार्यान्वयन गर्न सकेको
छैन । महिलाको पक्षमा काम गर्ने धेरै NGO,
INGO हरु खुले पनि केवल आफ्नो विकास
गर्न अनि बजेट आफै कुम्ल्याउनु बाहेक अन्य काम भएको छैन ।
आज अधिकार माग्नेहरु नै के मागिरहेका छन् र उनीहरुलाई
नै थाहा छैन । आज सुन्दरी प्रतियोगिता स्वयं मोडलिङ जस्ता कार्यलाई अधिकार पाएको र
यसको उपयोग गर्नुपर्छ भन्ने सोचका कारण समाज नाङ्गिदै छ । आज एउटा महिला हिंसामा परे
न्याय चाहियो भनेर न्याय र अपराधीलाई सजायँ खोज्दै हिँड्छन् तर न्याय दिने पुलिस प्रसाशनबाटै लुटिदै छे । विज्ञान,
प्रविधि, शिक्षामा अग्रपंक्तिमा आउने मुलुक अमेरिकामा झन् महिला हिंसा
धेरै देख्न सकिन्छ । सम्बन्ध विच्छेदका धेरै घटना त्यहि मुलुकमा हुन्छ । आज हाम्रो
समाज त्यहि पश्चिमाकरणको माग गर्दैछ । हाम्रो देशका नेताहरुले महिलाको मुद्दालाई उठाए
पनि त्यो केवल लोकप्रियताका लागि मात्र हो । यदि उनीहरुले साँचो रुपमा यो मुद्दालाई
उठाएका भए उनीहरुले आफू र आफ्नो परिवारबाटै यो कुरालाई
लागु गर्नुपथ्र्यो कि उनीहरुको परिवारमा महिलामाथि कुनै थिचोमिचो हुँदैन, महिलाको नाममा पनि सम्पति, निर्णय प्रक्रियामा महिलाको पनि सहभागिता हुन्छ ।
आजको समाजमा यति धेरै विभेद, यति धेरै घटना अनि अधिकारका लागि संघर्ष हुँदैछ । एक पटक कुरआनको
चर्चा गरौं । पवित्र ग्रन्थ कुरआनमा महिलाको सवालमा के भनेको छ । आजको नेपाली समाज
महिलाको सम्पत्तिमा पनि अधिकार हुनुपर्छ भनेर लडाइ लड्दै छ । आज भन्दा १४ सय वर्ष पहिले
अवतरित भएको कुरआनमा स्पष्ट लेखिएको छ कि विवाह अघि जुन सम्पत्तिको मालिक थिइन् विवाहपछि
त्यो सम्पति उसको नै हुनेछ अनि विवाहका बेलामा दिइने महरको पनि पूर्ण स्वामित्व नारीलाई
मात्र हुनेछ । पैतृक सम्पतिमा पनि १ भाग छोरीले पाउँछे । छोरा नभएमा पैतृक सम्पत्तिको २÷३ भाग, लोग्नेको सम्पत्तिमा सन्तान भएमा
८ भागको १ भाग र नभएमा ४ भागको १ भाग पाउँछे । नारीको यस सम्पतिमा जीवित रहुन्जेल सम्म
कसैको हक लाग्दैन र आफ्नो हिसाबले खर्च गर्न पाउँछे । अनि पतिको मृत्युपछि फेरि विवाह
गर्न पनि सक्छे जुन कुरा हाम्रो समाजले आज माग गरिरहेकोछ ।
कुरआनमा लेखिएको छ कि बुढाबुढीको सेवा गर्नाले स्वर्गमा
वास हुन्छ । बुढाबुढीलाई हेला गर्नु हुँदैन, राम्रो मिठो वचन बोल्नुपर्छ तर अफसोच आजको २१ औं शताब्दिमा मानिसहरु
बुढाबुढीलाई मन पराउँदैनन्, उनीहरुको कुरा सुन्न
र वरिपरी पर्न समेत हिचकिचाउँछन् । उनी छोरी र छोरी जन्माउने आमालाई अमानवीय व्यवहार
गर्छन् । अन्य थुप्रै दुव्यवहार र हिंसा जसको माथि चर्चा गरिसकिएको छ तर हदीसमा आज भन्दा १४ सय वर्ष अगाडि नै लेखिएको
छ कि छोरी पाउने आमा संसारकी भाग्यमानीमा गनिन्छे । अनि आमाको पैतालामुनि स्वर्ग हुन्छ
। छोरीको पालनपोषणबाट स्वर्गको हकदार हुन्छ अनि त्यहि छोरी स्वर्गबाट उसलाई बचाउने
माध्यम बन्न सक्छे । इस्लाम धर्ममा आमा र छोरीलाई जुन दर्जा दिएको छ त्यो बाबु र छोरालाई
दिइएको छैन । न त यस धर्ममा कतै लेखिएको छ कि महिनावारी भएकी एउटी नारीले कसैलाई छुनु
हुँदैन, केहि सामान बनाउनु हुँदैन
। महिनावारी भएकी एउटी नारी परिवारसँगै उठबस गर्न सक्छे अनि यौन सम्पर्क बोहक घरका
अन्य सबै काम गर्न सक्छे । आज सुदुरपश्चिममा जस्तो छाउपडि प्रथाका कारण कैयौंको ज्यान
जाने वाध्यात्मक परिस्थिति इस्लामा धर्ममा छैन । पोइटोकुवा, बोक्सीको आरोपमा मलमुत्र खुवाउने, डाम्ने, सुत्केरी हुँदा घर
छाडेर असुरक्षित र फोहार ओडार वा गोठमा बस्नुपर्ने कुरा कुरआनमा कतै भेटिदैन । छोराछोरीको
भेदभाव, दाइजोको लेनदेनमा बुहारीलाई
सताउने आदि कार्य जसले पुरुष वा महिलाहरुले महिलामाथि गरे पनि त्यो कार्य जघन्य अपराध
हो । जुन कार्य अल्लाहको लागि असह्य हुनेछ र परीक्षाको घडिमा तिनीहरुलाई नरकमा होमिने
छ ।
सबैभन्दा बढि हिंसा र यौन शोषण हुने गरेको छ आजको
समाजमा । जुवा, तास, मदिरा सेवन गरेर मातेको सुरमा होश गुमाइ झगडा तथा
बलात्कार भएका घटना कैयौं सुन्नमा आउँछन् तर कुरआनमा स्पष्ट लेखिएको छ कि जुवा,
तास, मदिरा पूर्ण रुपमा निषेध छ । फुटपाटको चियापसलबाट पाँचतारे होटलसम्म मदिराको लतमा
मातेकाहरु पाइन्छ । अनि घरमा विहान, बेलुका छाक टार्न नसक्ने परिवारमा स्वास्नीले दिनभर ज्याला गरेको पैसाले नुन,
तेलको सट्टामा लोग्नेलाई रक्सी लैजानु पर्ने वाध्यता
छ । जुन कार्य अल्लाहले अवैध घोषित गरेका छन् ।
हाम्रो समाजमा महिलाहरु यौन शोषणमा पर्ने प्रमुख
कारणमध्ये एउटा कारण हो छोटो कपडा पहिरिनु, भड्किलो लुगा लगाउनु
। महिला अधिकारकर्मिबाट यो कुराको खण्डन गर्दै यसले मात्र हिंसा ननिम्त्याउने
कुरा जाहेर गरेका छन् र भन्छन् “त्यो भए ५ वर्षकी
बच्चा र ९० वर्षकी हजुरआमा किन बलात्कारमा पर्छन् त ?” तर एउटा बाटो हिडिरहेकी महिला जसले लामो कपडा लगाए कि छे अनि
अर्कोले शरिरका अंग देखिने छोटो कपडा लगाएकी छे भने पक्कै पनि सबैको नजर छोटो कपडा
लागाउनेमा पर्छ र उसलाई जिस्क्याउने, दुव्र्यवहार गर्ने कार्य हुन्छ । अनि उसले जसलाई भेट्छ उसलाई बलात्कार गर्छ ।
आज हामी जुन नारी समानता, स्वतन्त्रताको आवाज उठाइरहेका छौं आजभन्दा १४ सय
वर्ष पहिले अवतरित भएको ईश्वरी ग्रन्थ कुरआनमा प्रायः सबै अधिकारहरुको व्याख्या गरिएको
छ । आजको जुन अमानवीय व्यवहार समाजमा व्यस्त छ र दण्ड दिइन्छ त्यसलाई पनि अल्लाहले
पहिले त्यस्ता कार्य अवैध गरेका छन् र त्यस्ता
कार्य गर्ने व्यक्तिलाई अल्लाहले नरकमा होम्ने छन् । कुरआनमा लेखिएको कुरा एकपटक सबैले
अध्ययन गर्ने र यसको पालना गर्ने हो भने हाम्रो समाजबाट प्राय सबै किसिमका भेदभाव तथा
हिंसाहरुको अन्त्य हुने थियो । कतिपय देशमा भएका कानुनमा लेखिएका नियम पालना भएका छैनन्
र पालना नगर्नेलाई राज्यले दण्ड दिने गर्छ । हाम्रो समाजमा पनि कतिपय कानुनलाई कार्यान्वयन
गर्न कठिन भैरहेको छ र बुझेकाहरुले पनि त्यसको कार्यान्वयन र व्यवहारमा उतारेको पाइदैन
। त्यस्तै इस्लाम धर्ममा पनि यसि समुदायका केहि मानिसहरुले कुरआनमा लेखिएको कुरा नियम
विपरित गएका छन् । पक्कै पनि त्यस्ता व्यक्तिलाई अल्लाहले कदापि छाड्ने छ्रैनन् । आशा
गरौ यस संसार तथा हाम्रा मुलुकमा हुने गरेका सबै किसिमका हिंसा, अत्याचार, दमन अन्त्य हुनेछ र सबै मानिसमा मानवीय व्यवहार गर्नुपर्ने धारणा
विकास हुँदै जानेछ । अनि सुन्दर, समुन्नत, हिंसा भेदभावरहति समाजको निर्माण हुनेछ । ईश्वरले
सबैमा सद्धवृद्धि, विवेक प्रदान गर्नु
गरुन् । आमिन् ।
No comments:
Post a Comment