‘विरासत’ एउटा अति नै प्रचलित शब्द हो जसको भावार्थ हुन्छ आफ्नो पूर्खाहरूबाट केही प्राप्त गर्नु चाहे त्यो धनसम्पत्तिको रूपमा होस् वा आदर्श, उपदेश तथा संस्कारको रूपमा ।
तर इस्लामी कानुनमा यस परिभाषिक शब्दको उपयोग त्यस धनसम्पत्तिका लागि गरिन्छ जुन मृत्युका समय मृतकको स्वामित्वमा रहेको होस् जसलाई उसको नातेदारहरूमा भागबंडा गरियोस् । इस्लामी कानुनमा यस वितरणको पूर्ण कानुन नै छ जसलाई ‘विरासतको कानुन’ भनिन्छ ।
इस्लाम ईश्वरद्वारा निर्धारित एउटा जीवनशैलीको नाम हो जुन सम्पूर्ण मानवजीवनका लागि मार्गदर्शन र कानुन प्रदान गरेर एउटा यस्तो समाजको निर्माण गर्दछ जसमा प्रत्येक व्यक्ति एउटा सुखी जीवन व्यतीत गर्न सकोस् र उसको समृद्धि र विकासमा कुनै बाधा उत्पन्न नहोस् किनभने परिवार समाजको एउटा आधारभूत एकाई हो । त्यसैले इस्लामले परिवारलाई सुदृढ पार्न धेरै जोड दिएको छ ।
इस्लामले परिवारलाई एउटा संस्थाको रूपमा हेर्दछ । जसरी एउटा संस्थालाई सुचारू रूपमा चलाउनका लागि सदस्यहरूमा उत्तरदायित्वको निर्धारण आवश्यक हुन्छ, त्यसरी नै इस्लामले यस परिवाररूपी संस्थामा प्रत्येक सदस्यहरूको उत्तरदायित्वको निर्धारण गर्दछ ।
परिवारमा कसैको मृत्यु भएपछि एउटा सदस्य अवश्य कम हुन्छ तर त्यो संस्था समाप्त हुदैन । यस परिस्थितीमा इस्लाम यो उचित सम्झन्छ र सुनिश्चित गर्दछ कि मृतकको सम्पतिको वितरण बाकी सदस्यहरूमा होस् । अधिकार एवम् उत्तरदायित्यको चयनमा सदस्यहरूलाई आपसी कलह र संघर्षबाट बचाउनका निम्ति इस्लामले यसको निर्धारण स्वयं गरिदिएको छ र मृतकको सम्पत्तिको वितरणको एउटा विस्तृत कानुन पनि प्रदान गरिदिएको छ । यसै कानुनलाई ‘विरासतको इस्लामी कानुन’ को नामले चिनिन्छ । कुरआनका निम्न लिखित श्लोकहरूमा यस कानुनको विस्तृत विवरण रहेको छः
सुरह बकरह – श्लोक नं. १८०, २४०
सुरह निसा – श्लोक नं. ७–१२, १४, १९, ३३, १७६
सुरह माइदा – श्लोक नं. ७५
सुरह अहजाब – श्लोक नं. ६
यी समस्त श्लोकहरूको गहन अध्ययन पश्चात् विरासतको इस्लामी कानुन र यस सम्बन्धी अन्य विषयहरूलाई बुझ्नका लागि निम्न लिखित शीर्षक अन्तर्गत व्यक्त गर्न सकिन्छः
१. यसको पालना अनिवार्य छ ।
इस्लामी विरासतको कानुनको अनुपालन मुस्लिमहरूको स्वेच्छामा छोडिएको छैन, बरू यसलाई अनिवार्य घोषित गरिएको छ । कुरआनको सुरह निसा श्लोक १३–१४ मा विरासतको यस कानुनलाई ‘इश्वरीय सीमा’ को संज्ञा दिइएको छ र यसको उल्लंघन गर्ने व्यक्तिलाई सदैव नर्कमा हालिने र कठोर दण्डको चेतावनी पनि दिइएको छ । एउटा इस्लामी राज्यको यो कर्तव्य हुन्छ कि उसले यसको अनुपालनको सुनिश्चित गरोस् र उल्लंघन गर्ने व्यक्तिलाई कठोर सजाय देओस् ।
२. समस्त सम्पत्तिको विवरण गरिने छ ।
पवित्र कुरआनको अध्ययनबाट यो थाहा हुन्छ कि मृतकको समस्त सम्पत्तिको वितरण गरिनेछ चाहे त्यो धनी थियो वा निर्धन एवं उसको सम्पत्ति कम होस् वा धेरै । हजरत मुहम्मद (स.) को निर्देशन छ कि मृतकको समस्त सम्पत्तिको वितरण हरेक परिस्थितीमा अनिवार्य छ चाहे उसले १ मिटर कपडा नै छोडेको होस् ।
३. हरेक प्रकारका सम्पत्तिहरूको वितरण तथा भागबण्डा गरिने छ ।
सम्पत्ति चाहे चल होस् वा अचल, नगद होस् वा घर, खेत होस् वा जनावर वा व्यवसाय, सबैको वितरण गरिनेछ र केही पनि यस कानुनबाट मुक्त राखिने छैन । अर्थात मृतकको स्वामित्वमा जेजति पनि सम्पत्ति हुन्छ त्यसको भागबण्डा (वितरण) अनिवार्य छ चाहे त्यो कुनै रूपमा होस् ।
४. यो कानुन मृत्युपछि नै लागु हुनेछ ।
‘विरासत’ भनेकै त्यो सम्पत्ति हो जुन मृत्यु पश्चात कसैको स्वामित्वमा रहेको होस् । अतः जीवित व्यक्तिको कुनै पनि सम्पत्तिमा यो कानुन लागु हुदैन र उसलाई पूर्ण अधिकार छ कि ऊ आफ्नो जीवनमा आफ्नो समस्त सम्पत्तिको क्रय–विक्रय आफ्नो इच्छानुसार गरोस् । इस्लामी विरासतको कानुन एउटा व्यक्तिको मृत्यु पश्चात नै कार्यान्वयन हुन्छ । आफ्नो जीवनमा नै आफ्नो समस्त सम्पत्तिको वितरण संभावित उत्तराधिकारीहरूमा गर्ने अधिकार प्रत्येक व्यक्तिलाई हुन्छ, तर यसलाई विरासतको वितरणको विकल्प बनाउन सकिदैन ।
५. उत्तराधिकारी को हुनेछ ?
इस्लामी विरासतको कानुनले मृतकको परिवारको कोही एक सदस्यलाई मात्र समस्त सम्पत्तिको उत्तराधिकार प्रदान गर्दैन, बरू मृतकसँगको नाताको निकटताको आधारमा सम्पूर्ण सदस्यहरूमा यसको वितरण गर्दछ । निकटतम नातेदार (पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, हजुरबा) लाई सबभन्दा अधिक अंश प्राप्त हुन्छ । यहाँ यो स्पष्ट रूपमा बुझ्न अति आवश्यक छ कि इस्लाममा यस निकटतम नातेदारको निर्णय सम्बन्धको मधुरता एवम् कटुतामाथि निर्भर हुदैन बरू यसको निर्धारण नाताले नै हुन्छ । सम्बन्धको कटुताका कारण कुनै पनि सदस्यलाई विरासतबाट बञ्चित गर्न सकिदैन । यसै प्रकार कुनै सदस्यसँगको मधुर सम्बन्धका कारण उसलाई उसको अंशभन्दा बढी दिन सकिदैन ।
पवित्र कुरआनका श्लोकहरूको अध्ययन गर्दा यो निष्कर्ष पनि निस्कन्छ कि यस परिवार रूपी संस्थाको बाहिरका कुनै व्यक्तिको विरासतमा अधिकार हुदैन र यस्तो कुनै पनि व्यक्ति यस उत्तराधिकारको दाबी गर्न सक्दैन ।
६. स्त्री र पुरूष दुबै उत्तराधिकारी हुन्
समाजमा फैलिएका भ्रमहरूका विपरीत इस्लाम स्त्रीलाई परिवारको महत्वपूर्ण अंग मान्दछ र पुरूष जस्तै महिलालाई पनि विरासतमा अधिकार प्रदान गर्दछ । उनी चाहे आमाको रूपमा हुन् वा पत्नी, बहिनी अथवा छोरीको रूपमा, इस्लामी विरासतको कानुनमा उनको लागि ईश्वरले अंश निर्धारण गरि दिएका छन् र कसैलाई यो अधिकार छैन कि उनलाई विरासतबाट बञ्चित गरोस् । स्त्री र पुरूष दुबैको अंशको मात्रा परिस्थितीहरूमा निर्भर गर्छ । कहिले स्त्रीलाई पुरूषको आधा अंश प्राप्त हुन्छ, कहिले बराबर र कहिले पुरूषको दुइगुणा प्राप्त हुन्छ ।
७. वसीयत (इच्छाएको)
यदि कुनै व्यक्तिको इच्छा छ कि उसको मृत्युपछि परिवार बाहिरको पनि कुनै व्यक्ति, संस्था अथवा समाजसेवाका लागि उसको सम्पत्तिको केही अंश दिइयोस् भने इस्लाम उसलाई यो अधिकार प्रदान गर्दछ कि आफ्नो जीवनकालमा ऊ त्यस व्यक्ति अथवा संस्थाको पक्षमा वसियत गरोस् । इस्लाम मृतकद्वारा गरिएको वसीयतको आदर गर्दछ र त्यसको कार्यान्वयन गर्ने आदेश दिन्छ । यस अधिकारको दुरूपयोग हुनबाट बचाउनका लागि इस्लामले यसको सीमा पनि निर्धारण गरेको छः
१. समस्त सम्पत्तिको एकतिहाई भागभन्दा बढीको वसीयत गर्न सकिदैन ।
२. वसीयत त्यस व्यक्तिको पक्षमा हुन सक्दैन जसको पहिलेदेखि नै विरासतको कानुनमा अंश निर्धारित गरिएको छ ।
यी प्रावधानहरू आवश्यक थिए ताकि कुनै व्यक्ति यस कानुनको प्रयोग गरी आफ्ना नातेदारलाई उसको वास्तविक अधिकारबाट बञ्चित नगरोस् अथवा आफ्नो सम्पत्तिको अधिकांश भाग परिवारको कुनै एक सदस्यको नाममा नगरोस् ।
८. विरासतको उत्तराधिकारी जीवित व्यक्ति नै हुन सक्छ
विरासत ती व्यक्तिहरूमा नै वितरित हुनेछ जो सम्पत्तिका मालिकको मृत्युका समय जीवित हुनेछन् । यदि कुनै नातेदारको मृत्यु सम्पत्तिमालिकको मृत्युभन्दा पहिले नै भइसकेको छ भने उसको नाम उत्तराधिकारीमा सम्मिलीत गरिने छैन । यही कारण हो कि कुनै व्यक्ति आफ्नो जीवनकाल मै आफ्नो सम्पत्तिको भागबण्डा गर्न सक्दैन किनभने उसलाई थाहा हुदैन कि उसको मृत्युको समय कुन उत्तराधिकारी जीवित रहनेछ र को रहने छैन ।
९. भागबण्डा (वितरण) कसले गर्ने ?
विरासतको कानुन कसैको मृत्युपछि नै कार्र्यािन्वत हुन्छ, त्यसकारण कुनै व्यक्ति आफ्नो जीवनकाल मै त्यस कानुनलाई प्रभावमा ल्याउन सक्दैन । उसको मृत्युपछि उसका उत्तराधिकारीहरू आपसी सहयोग र सहमतिले ईश्वरद्वारा प्रदान गरिएको निर्देशनको आधारमा विरासतको कानुन लागु गर्नेछन् । यदि आवश्यक्ता भए कुनै विशेषज्ञको सहायता पनि लिन सक्नेछन् ।
१०. शीघ्र वितरण हुनुपर्छः
सम्पत्तिको विवाद प्रायः परिवारमा कलह र विघटनको प्रमुख कारण बन्न सक्दछ, त्यसकारण कसैको मृत्युपछि उसको सम्पत्तिको भागबण्डा छिटो होस् भन्ने इस्लामको चाहना छ ।
११. ऋण
यदि मृतकमाथि कुनै ऋण छ भने उसको ऋण चुक्ता गरेपछि बाकी रहेको सम्पत्तिमा मात्र विरासतको कानुन लागू हुनेछ ।
१२. हिबा (दान)
यहाँ यो आवश्यक्ता महसुस हुन्छ कि इस्लामी कानुनको एउटा नियम ‘हिबा’ का बारेमा पनि अवगत गराइयोस् । यस कानुन अन्तर्गत कुनै व्यक्तिलाई यो अधिकार प्राप्त हुन्छ कि ऊ आफ्नो जीवनकाल मै आफ्नो पूरा सम्पत्ति वा केही अंश कुनै व्यक्ति (चाहे त्यो नातेदार होस् वा नहोस्) अथवा कुनै संस्थालाई देओस् र उसलाई कानुनी रूपमा त्यसको मालिक बनाइ देओस् । यस कानुनी अधिकारका बावजुद नैतिक स्तरमा इस्लाम यो चाहन्छ कि कुनै व्यक्ति यस कानुनको प्रयोग गरि आफ्ना उत्तराधिकारीहरूलाई पूर्ण रूपमा आफ्ना सम्पत्तिबाट बञ्चित नगरोस् । वास्तवमा यो कानुन केही असाधारण परिस्थितीहरूका लागि मात्र राखिएको हो जुन कुनै व्यक्तिलाई असामान्य अवस्थामा पेश आउन सक्छ ।
वितरणको कार्यान्वयन र त्यसको अनुक्रम
वास्तविक्ता त यो हो कि इस्लामी विरासतको कानुनको आरम्भ मृतकको अन्तिमसंस्कारको खर्चबाट नै भइहाल्छ । विरासतको वितरणको पूर्ण क्रम यस प्रकार छः
१. अन्तिम संस्कारः मृतकको सम्पत्तिबाट सर्वप्रथम उसको अन्तिम संस्कारको खर्चलाई निकालिने छ र बाकी रहेको सम्पत्तिमा कानूनको अर्को चरणको कार्यान्वयन हुनेछ ।
२. ऋण चुक्ताः यदि मृतकमाथि कुनै प्रकारको ऋण छ भने अन्तिम संस्कार पछिको बाकी सम्पत्तिबाट उक्त ऋण चुक्ता गरिनेछ । बाकी रहेको सम्पत्ति अघिल्लो चरणमा जानेछ ।
३. वसीयतः तेस्रो चरणमा मृतकले इच्छाएको व्यक्ति (जुन विरासतको कानुनमा उत्तराधिकारीका रूपमा निर्धारित गरिएको व्यक्तिमध्येको नहोस्) अथवा संस्थालाई इच्छाएको सम्पत्ति (जुन कूल सम्पत्तिको एकतिहाइ भागभन्दा बढी नहोस्) प्रदान गरिने छ ।
४. उत्तराधिकारीहरूमा भागबण्डाः पहिलो तीनवटा चरणपछि जुन सम्पत्ति बाकी रहन्छ त्यो उत्तराधिकारीहरूमा विरासतको कानुन बमोजिम वितरण गरिने छ । कसलाई कति अंश पाउनेछ भन्ने कुरा उत्तराधिकारीहरूको संख्या र नातामा निर्भर गर्छ, त्यसकारण यसको विस्तृत विवरण यहाँ दिन सम्भव छैन । यसको विस्तृत जानकारी कुरआनमा वर्णित आदेशहरूबाट प्राप्त गर्न सकिनेछ ।
५. बैतुलमाल (सरकारी कोष)ः संयोगवश यदि मृतकको कुनै उत्तराधिकार छैन वा जीवित छैन भने उसको सम्पूर्ण सम्पत्ति सरकारी कोषमा समावेश गरिनेछ र त्यसलाई समाजको विकासमा उपयोग गरिनेछ ।
इस्लामी विरासतको कानुनको उद्देश्य
इस्लामी विरासतको कानुन मात्र सम्पत्ति वितरणको कानुन होइन, यसबाट अन्य महत्वपूर्ण उद्देश्यहरूको प्राप्ती पनि हुन्छ जुन एउटा परिवार र समाजका लागि अति आवश्यक छः
१. सम्पत्तिको प्रवाह
कुनै पनि समाजमा सुख, शान्ति एवम् समृद्धि त्यही बेला सम्भव हुनेछ जब त्यसमा भएको सम्पत्ति केही व्यक्तिहरूको हातमा मात्र सीमित नहोस् ।
इस्लामको आर्थिक व्यवस्था यस कुरालाई सुनिश्चित गर्छ कि समाजमा भएको सम्पत्ति सधैं प्रवाहमा रहोस् । यही कारण हो कि जबजब इस्लामी कानुनलाई कुनै समाजमा पूर्ण रूपमा लागु गरिएको छ, त्यहाँ सुख, शान्ति र समृद्धिको ढोका खुलेको छ ।
सम्पत्तिको सञ्चयबाट जहाँ एकतर्फ त्यसको वितरण असमान हुन्छ र गरिबी फैलिन्छ, त्यहीँ अर्को तर्फ मानिसमा लोभ र कन्जुस्याईको प्रवृत्तिको विकास हुन्छ । पवित्र कुरआनमा ईश्वरले यस्तो गर्ने व्यक्तिहरूका लागि कठोर सजायको चेतावनी दिएका छन् ।
आज हाम्रो समाज यस रोगबाट ग्रसित छ र यहि कारण हो कि जोसंग सबभन्दा अधिक सम्पत्ति छ त्यो नै सबभन्दा अधिक लोभी छ र तिनीहरूलाई यो कदापि चिन्ता लाग्दैन कि समाजको एउटा ठूलो वर्ग भोकमरीको शिकार बन्दैछ ।
पूंजीवाद यही असमाज आर्थिक व्यवस्थाको प्रचारक हो र यसै आधारमा समाजको निर्माण गर्न चाहन्छ । इस्लाम यसको विरोध गर्दछ र यसलाई पूर्ण रूपमा समाप्त पार्न चाहन्छ । यसै कारण इस्लाममा यस्तो प्रावधान छ कि धनसम्पत्ति एकै स्थानमा संचित हुन नसकोस् र यसको प्रवाह सुनिश्चित होस् । जकात (अनिवार्य धनदान), सदका (स्वेच्छिक धनदान) र विरासतको कानुन यसै प्रावधानका अंश हुन् ।
२. यो स्मरण गराउनु कि समस्त सम्पत्तिका वास्तविक मालिक ईश्वर हुन् ।
यो समस्त संसार उसकै सम्पति हो जसले यसको सृष्टि गरेका छन् र उही नै यसको वास्तविक स्वामी हुन् । मानिस अनभिज्ञतामा आफूलाई आफ्नो सम्पत्तिको वास्तविक स्वामी सम्झन्छ र त्यसमा आफ्नो एकाधिकार जमाउन खोज्छ ।
वास्तविक्ता यो हो कि मानिसको सम्पत्तिमा अधिकार अस्थायी हो र ऊ मात्र एउटा प्रतिशासक (Regent) हो । उसको मृत्युपछि यो अधिकार समाप्त हुन्छ र यो उसको वास्तविक स्वामीमा निर्भर हुन्छ कि अब उनले आफ्नो सम्पत्तिको स्वामित्व पुनः कसलाई प्रदान गर्नेछ ।
इस्लामी विरासतको कानुन यही सत्यताको स्मरण गराउँदछ । मृतकको सम्पत्ति कसलाई र कति दिने हो यो ईश्वरको अधिकार हो र यसमा मानिसले आपत्ति जनाउने कुनै अधिकार छैन ।
३. मानिसलाई संतोष होस् कि उसको मृत्युपछि उसको सम्पत्ति विवादको कारण बन्ने छैन ।
जब सम्पत्तिको वितरण इश्वरीय निर्देशानुसार हुन्छ भने कसैलाई कुनै आपत्ति हुनेछैन, न त सम्पत्तिको विवाद परिवारलाई विघटन पार्ने कारण बन्नेछ । यो विश्वास जीवनमा पनि मानिसको सन्तोषको कारण बन्दछ र मृत्युका समय पनि धेरै कष्टहरूबाट मुक्ति प्रदान गर्दछ ।
No comments:
Post a Comment