Monday, October 10, 2016

ब्याजः एक अभिशाप

ब्याजः एक अभिशाप
        अजिजुल्लाह अन्सारी
     जब नेपाली मुस्लिमहरुसंग एउटा प्रश्न सोधिन्छ – “यदि नेपाल सरकारले जनावरलाई इस्लामी तरिकाले जिबह गर्ने (काट्ने) कुरामा प्रतिबन्ध लगाउँछ भने तपाईको प्रतिकृया कस्तो हुनेछ ?” जवाफ पाईन्छ– “हामी यस कानुनबिरुद्ध आवाज उठाउनेछौं ,आन्दोलन गर्नेछौं.....। त्यही मुस्लिमहरुका लागि अर्काे प्रश्न –“ईश्वर सामू ठूलो अपराध कुन हो इस्लामी तरिकाले नकाटेको जनावरको मासु खानु अथवा ब्याजमुक्त कारोबार गर्नु ठुलो अपराध हो ?” 
जवाफ हुनेछ– “ब्याजयुक्त कारोबार गर्नु ठूलो अपराध हो ।
    जब ब्याजको कारोबार गर्नु जिबह नगरेको जनावरको मासु खानु भन्दा ठुलो अपराध र पाप हो भने मुस्लिमहरुले यसको बिरुद्ध कुनै कदम किन उठाएका छैनन जबकि जिबह माथिको प्रतिबन्ध हटाउन आन्दोलन समेत गर्न तत्पर छन् ? मुस्लिमहरु मात्र होइन् , गैरमुस्लिमहरुले पनि ब्याज बिरुद्ध किन कम्मर कसेका छैनन् जबकि ब्याजको भूमरीले बिना कुनै भेदभाव सबैलाई आफनो चपेटामा लिएको छ ।
   अवश्य पनि ब्याजयुक्त कारोबार गर्नु ठुलो अपराध हो, किनभने यस्तो कुनै अपराध वा पाप छैन जसका बिरुद्ध स्वंम इश्वरले नै युद्धको घोषण गरेका हुन् ः हे आस्थावानहरु हो ! अल्लाहको भय गर र यदि तिमीहरु साँच्चिकै आस्थावान हौ भने बाँकी रहेको ब्याज परित्याग गरिदेऊ । यदि तिमीहरुले त्यस्तो गरेनौ भने सावधान ! अल्लाह र रसुलको तर्फबाट युद्धका लागि तयार भईहाल । (कुरआन २ः२७८२७९)
       मुहम्मद (स.) ले ब्याजमुक्त कारोबारलाई नर्कको आगोमा पु¥याई छाड्ने सातवटा अति घोर पापहरुमध्ये एक भएको बताउनु भयो । (बुखारी र मुस्लिम )
                यस कुरालाई इश्वरले स्वंम प्रमाणित गर्दै भन्नुभयो  र जुन मानिस ब्याज खाने कार्य तर्फ फेरी फर्कन्छन् तिनीहरु नर्कवासी हुन् जहां तिनीहरु सदा सर्वदा रहनेछन् ।” (कुरआन २ः२७५ )
                ब्याज कति घोर र तुच्छ पाप हो भन्ने कुरा को अनुभूति यस हदिसबाट सजिलै गर्न सकिन्छ– अबु हुरैरह (रजि.) ले बताउनु भयो कि  मुहम्मद (स.) ले भन्नुभयो  ब्याज सत्तरी (७०) प्रकारका छन् र सबभन्दा कम्तिको पाप यस समान छ कि उसले आफनो आमासंग व्यभिचार गरोस् ।” (इब्ने माजाह)
    केही मानिसहरु यस्ता पनि छन् जसले ब्याजलाई ब्यापारको रुपमा लिने गर्दछन् जँहा पूँजी लगानी गरी त्यस वापत केही नाफा कमाइन्छ । आजका बैंकहरु सोही काम गर्दै ब्याजलाई नाफाका रुपमा आर्जन गर्ने गरेका छन् । तिनीहरु लाई इश्वरले जवाफ दिएका छन् ः ती मान्छेहरु जसले ब्याज खान्छन् , (चिहानबाट) यसरी उठ्नेछन जस्तो कि शैतानले छोएर उसलाई बौलाहा बनाएको होस् ।  यस्तो यस कारणले हुनेछ कि तिनीहरुले भन्दथे –“ब्यापार पनि ब्याज जस्तै हो । ब्यापारलाई अल्लाहले बैध र ब्याजलाई अबैध ठह¥याएका छन् । ( कुरआन २ः२७५ )
    कुरआनले मात्र होइन् , बाइबलले पनि ब्याजलाई अबैध ठह¥याएको छ । बाइबलले ब्याज लिनेलाई मारिनै पर्छ भन्ने समेत घोषणा गरेको छ ः जसले ब्याजमा रुपियां दिन्छ र दिएको भन्दा बढी लिन्छ । के यस्तो मानिस जीवित रहन्छ र? त्यो जीवित रहनेछैन । त्यसले यी सबै घिनलाग्दा कामहरु गरेको कारणले मारिनैपर्छ र त्यसको रगत त्यसकै शिरमाथि पर्नेछ ।” (इजकिएल १८ः१३)
     ब्याज नलिने व्यक्ति नै असल आत्मा भएको बाइबल बताउँछ  त्यसले ब्याजमा रुपियां दिदैन , कुर्कम गर्नबाट आफनो हात परै राख्छ , मानिसमानिसको बीचमा सत्यसित न्याय गर्छ .......त्यही मानिस धर्मात्मा हो । ” (इजकिएल १८ः८,१७ )
    जसले आफनो रुपियाँ ब्याजमा लाउदैन र निर्दाेषको विरुद्ध घूस लिदैन । यस्ता काम गर्ने कहिल्यै पनि डग्नेछैन ।”  (भजनसङ्ग्रह १५ः५ )
    तिमीहरु संग हुने मेरो कुनै गरिब मानिसलाई ऋण दियौ भने त्यस प्रति साहुकार जस्तै नहोओ । त्यससित ब्याज पनि नलेओ । ” ( प्रस्थान २२ः२५ )
  इश्वरको भय राख्ने सच्चा अनुयायीले ब्याज लिने छैन । बाइबल भन्छ  त्यसलाई ऋण दिदाँ ब्याज वा नाफा नलिनू । तिमीहरुले आफनो परमेश्वरको भय मान्नु र तिमीहरुको दाजुभाई तिमीहरु सितै बसिरहोस् त्यसलाई तिमीहरुले ब्याजमा रुपियाँ नदिनु । ” (  लेवी २५ः३६३७ )
ब्याज खाने ब्यक्तिहरुको धन धेरै समय सम्म तिनीहरुसंग नरह्ने कुरा को दाबी बाइबलले गर्दछ ः अति नै ब्याज लगाएर जसले आफनो सम्पत्ति बढाउछ , त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ , जसले गरीबमाथि दया राख्नेछ । ” ( हितोपदेश २८ः८ )
    कुरआनले यसरी भन्दछ  अल्लाह ब्याजलाई मेटाउँछन् र दानमा अभिबृद्धि गर्छन् । र अल्लाहले कृतघ्नहरु एवं पापीहरुलाई मन पराउदैनन् । ” ( कुरआन २ः२७६ )
    येशु मसिहले ब्याजका कारोबार गर्नेहरुलाई डाँका भन्दै रिसका कारण तिनीहरुको टेबुलहरु समेत पल्टाइ दिएका थिए ः येशु परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो । अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनु भयो र पैसा साट्नेहरुका टेबिल , र परेवा बेच्नेहरुका आसन पल्टाइदिनु भयो । उहाँले तिनीहरुलाई भन्नुभयो , “यो लेखिएको छ , ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ ।  तर तिनीहरुले यसलाई डाँकूहरुको अड्डा बनाएका छौ । ” (मत्ती २१ः १२१३ )

      ब्याजको अपराध ककसमाथि लागू हुन्छ त ? मुहम्मद (स.) ले भन्नुभयो अल्लाहले तिरस्कृत गरेका छन् उनीहरुलाई जसले ब्याज खान्छ , जसले ब्याज दिन्छ ,जो त्यसको साक्षी बस्छ र जसले त्यसको हिसाब लेख्छ ।” (मुस्लिम)
ब्याजको असर
                आज ब्याजी कारोबारको बर्चस्व देखिन्छ , त्यसमा अत्याधिक नाफा भएको अनुमान लगाइन्छ , तैपनि के कारण होला कि इसा मसिहले तिनीहरुलाई डाँका भनेर सम्बोधन गरे ? आखिर कति तुच्छ कार्य हो कि मुहम्मद (स.) ले ब्याजी कारोबारीलाई घोर ब्यभिचारीको संज्ञा दिनुभयो  ? कति ठुलो अपराध र पाप हो कि अल्लाह स्वयंले  ब्याजखोरीहरुलाई युद्धका लागि तयार रहन् भने ?
                 ऋणीले साहुकारलाई सावाँ भन्दा जेजति बढी रकम दिनुपर्ने हुन्छ त्यो नै ब्याज हो । ऋणी चाहे नाफामा होस् वा नोक्सानमा , उसले सम्झौता अनुसारको रकम साहुलाई तिर्नुपर्ने नै हुन्छ । यदि कुनै ब्यक्तिले साहुबाट रु. १,००,००० कर्जा लिन्छ र बार्षिक ५% साधारण ब्याज दिने करार हुन्छ भने वर्षको अन्त्यमा ऋणीले जम्मा रु. १,०५,००० साहुलाई तिर्नुपर्ने हुन्छ जसमा बढि तिरेको रकम रु. ५,००० नै ब्याज हो ।
    खुला बजारमा ब्याजदरको कुरा गरौं भने साहुकारहरुले मासिक ४ का दरले ब्याज लिने गरेका छन् अर्थात वार्षिक ४८ ब्याज तिर्नुपर्ने हुन्छ । एउटा गरिब व्यक्तिले साहुकारसंग ऋण लिंदा दुइ वर्षपछि दोब्बर रकम तिर्नुपर्छ ।
 यदि तपाईले रु. ३५,००,००० मा घर किन्दै हुनुहुन्छ जसमध्ये रु.५,००,००० तपाईले अग्रिम भुक्तानी गर्नुभयो र बाँकी ३०,००,००० रुपैयाँ मासिक किस्ताको रुपमा ३० बर्षमा ६%  बार्षिक ब्याजदरका हिसाबले चुक्ता गर्ने करार गर्नुभयो भने तपाईले मासिक रु. १७,९८६.५ तिर्नुपर्ने हुन्छ । जस अनुसार उक्त ३० बर्षको अवधिमा तपाईले कुल रु. ६४,७५,१४० भुक्तानी गर्नुपर्छ जसमा रु.३४,७५,१४० ब्याजरकम हुनेछ ।
   त्यही यदि कुनै ऋणदाताले ६% मासिक चक्रिय ब्याजका दरले रु. १० लाख ३० बर्षका लागि उपलब्ध गराउँछ भने त्यो रकमबाट रु. ५०,२२,५७५ ब्याज असुल गर्दछ ।
(www.thecalculatorsite.com/compoundinterestcalculator)
                 एक रिपोर्टका अनुसार ऋणदाता देशहरुले ऋणी देशहरुबाट रु.१ का सट्टा रु.९ असुल गरेका छन् अर्थात रु.१ अर्बको सट्टा रु.९ अर्ब असुल गरिएको छ ।
   अब अनुमान लगाउन सकिन्छ कि जब नेपालले अर्बौअर्ब रकम विश्व बैकंबाट ऋण लिन्छ भने कति रकम भूक्तानी गर्नुपर्ने हुन्छ । केहि बर्ष नबित्दै त्यो ऋण दोब्बरतेब्बर हुन जान्छ जसको पूरा भार जनता माथि आउँछ । त्यसैकारण महंगी जस्ता समस्याहरु उत्पन्न हुन् जान्छन् । अवस्था कतिसम्म भयावह छ कि नाइजेरियाका भूतपूर्व राष्ट्रपति ओबासेन्जो त्यहाको ऋणको बारेमा टिप्पणी गर्दै भनेका थिए  सन् १९८५८६ सम्ममा हामीले लिएको ऋणको कुल रकम ५ अर्ब डलर  ( $5 billion ) थियो र हामीले लगभग १६ अर्ब डलर ( $16 billion) तिरी सकेका छौँ , अझैपनि हामीलाई २८ अर्ब डलर ($28 billion) तिर्न बाँकी रहेको भनिदैछ । अन्तराष्ट्रिय ऋणदाताहरुको ब्याजदरको अनियमितताका कारण त्यो २८ अर्ब डलर आएको हो । यदि तपाईहरु मलाई सोध्नुहुन्छ कि संसारको नराम्रो वस्तु के हो भन्ने मेरो जवाफ हुनेछ चक्रिय ब्याज ।
(Jubilee  zoo news update , August 2000 )

     विश्व बैंक स्वयंले पनि आफनो १९९५ को विश्व विकास प्रतिवेदनमा विश्वमा सम्पन्नता र विपन्नता बीचको खाडल बढ्नुको प्रमुख कारण ब्याज हो भनी उल्लेख गरेको छ । हरेक देशमाथि अन्तर्राष्ट्रिय ऋण रहेको छ जसको ब्याज भूक्तानी गर्नु देशमाथि ठुलो भार भएको छ । ब्याजयुक्त कारोबार कै कारण धनी देशहरु रातारात धनी हदैंछन् भने गरीब देशहरु झन् गरीब बन्दै गएका छन् । यही अवस्था खुला बजारको पनि रहेको छ जहां धनी व्यक्तिसंग धनको थुप्रो लाग्दै गएको छ र गरिबहरु गरिबीको चक्की झन् पिसिएका छन् । गरीबी र ऋणले गर्दा प्रत्येक बर्र्ष करिब १ करोड १० लाख बालबालिकाहरुको मृत्यु हुने गरेको । प्रत्येक बर्ष कैयौं किसानहरु बैंकको ऋण तथा ब्याज भूक्तान गर्न नसकी आत्महत्या गर्ने गर्दछन् । भारतको मात्र कुरा गरौं भने हरेक बर्ष औसत १७,५१३ जना किसानले आत्महत्या गर्छन अर्थात प्रत्येक ३० मिनेटमा १ जना किसानले आत्महत्या गर्छ जसको प्रमुख कारण ब्याज हो । मूद्रास्फीति (Inflation) को प्रमुख सहयोगी तत्व ब्याज नै हो जसले गर्दा महंगीले आकाश छोएको छ । ब्याज भातृत्व (भाइचारा) तथा सहानुभूती र स्नेहको बिरुद्ध हुन्छ जसको आधार लोभ,कठोर हृदय तथा स्वार्थीपना हो । यो एकाधिकार समाजको जन्मदाता हो जहाँ गरिब अझैँ गरिब बन्दै गएका छन् र धनी अझै धनी । विश्वको सम्पूर्ण धनसम्पति केही ब्यक्तिहरुको हातमा मात्र समेटिएको छ । ब्याजी कारोबार यस्तो धन्दा हो जसमा ऋणदातालाई नोक्सानको कुनै सम्भावना हुदैन, नाफानोक्सानमा हिस्सेदारीको सट्टा सम्पूर्ण जोखिमहरु ऋणीले नै ब्यहोर्नु परेको हुन्छ । ब्याजको एकएक रुपैँयामा मान्छेको रगत लागेको छ किन भने यसले विश्वयुद्ध निम्त्याउन समेत पछि हटेको थिएन ।
कुनै बिकल्प छ कि ?
     अनेक समस्या र आर्थिक संकटबाट गुज्रिरहेको अर्थतन्त्र तथा समाजका शुभचिन्तकहरु बैकल्पिक बाटोको खोजीमा छन् । अर्थशास्त्रका प्रोफेसर श्री बैधनाथन भन्नुहुन्छ  देशले एउटा बैकल्पिक विश्व बित्तिय ढाँचाको आह्वान गर्नुपर्छ ।  (Indian institute of Mangement, Banglore )
               WEF 2009 समारोहको स्वागत मन्तब्य राख्दै World Economic Forum का कार्यकारी अध्यक्ष क्लस स्क्वाबले भन्नुभयोः आज हामीहरु एउटा चरम बिन्दुमा पुगिसकेका छौं जसले हामी समक्ष एउटै बिकल्प छोडेको छ – ‘परिर्वतन अथवा जारी गिरावट र बिपत्तिलाई सह्नु  
    अवस्थालाई बदल्न हामीसंग एउटा मात्र विकल्प बाँकी रहेको छ त्यो हो – ‘ब्याजरहित आर्थिक कारोबार जसलाई इस्लामिक बैंकिङ्गको रुपमा पनि चिनिन्छ ।
               ;g\ 2008-09  मा भएको विश्व आर्थिक संकटको समाधानका लागि इस्लामिक वित्तिय सिद्धान्तको प्रस्ताव राख्दै वेटिकन (Vatican)  को अधिकारिक समाचारपत्रमा भनिएको थियो  जुन नैतिक सिद्धान्तहरुमा इस्लामिक अर्थतन्त्रमा आधारित छ त्यसैले बैंकहरुलाई तिनीहरुलाई सेवाग्राहीहरु तथा वास्तविक अस्तित्वको नजिक पुृ¥याउन सक्छ जसले सबै बित्तिय सेवालाई अंकित गरेको हुनुपर्छ ।     ( L’ osservator Romano, 5th  march 2009 )
           किसानहरुको आत्महत्या तथा गरीबी निवारणको एकमात्र प्रणाली इस्लामिक बैंकिङ्ग भएको कुरा बताउँदै एम.एस.स्वामीनाथन भन्नुहुन्छ  हिजो पनि हामीहरु समाचारमा सुन्यौ कि विदरभा (महाराष्ट्र,भारत)  मा करिब ३० जना किसानहरुले आत्महत्या गरेका छन् । इस्लामिक बैंकिङ्ग जसले शुन्य ब्याजदरमा कर्जाको वकालत गर्छ , त्यसले यो संकटको समाधान गर्न सक्छ ।  (The New Indian Express , 6 April 2010 )
                अहिले आवश्यक्ता छ परिर्वतनको जसले ब्याज जस्तो अभिशापको सट्टा एउटा यस्तो प्रणाली लिएर आओस जुन शुुन्य ब्याजदरमा कारोबार गर्न सकोस्  इस्लामिक बैंकिङ्ग प्रणालीले ब्याज रहित कारोबार गर्न आव्हान गरेको छ । विभिन्न देशहरु जस्तै फ्रान्स, जापान, हङकङ, सिङ्गापुर आदिमा यस बैंकिङ्ग  प्रणालीलाई अपनाईएको छ । बेलायतमा पनि  इस्लामिक बैंक अफ ब्रिटेन (Islamic Bank of Britain ) को स्थापना भइसकेको छ । नेपालका अर्थशास्त्रीहरुले पनि यस प्रणालीमा ध्यान पु¥याउनु पर्छ । वित्तिय संस्थाहरु तथा अन्य संघसंस्थाहरुले लोभ र स्वार्थीपनालाई त्यागेर ब्याजरहित कारोबारलाई प्रोत्साहन दिनुपर्छ साथै विद्यार्थीहरुलाई इस्लामिक बैंकिङ्गको अध्ययन गर्न परामर्श दिनु पर्छ  तथा प्रशिक्षणको पनि ब्यवस्था गरिनुपर्छ जसरी भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहले भारतीय रिर्जब बैंक (RBI) लाई भनेका थिए समयसमयमा इस्लामिक बैंकिङ्ग माथि प्रयोग गर्ने माग उठदै आएको छ । म निश्चित रुपमा भारतीय रिर्जब बैंक (RBI) लाई सिफारिश गर्छु कि यस (इस्लामिक बैंकिङ्ग) सम्बन्धमा मलेसियामा के हुदैछ भन्ने कुराको अवलोकन गरोस् ।


No comments:

Post a Comment