Tuesday, October 11, 2016

मृत्यु : शुरूवात नया जीवनको

लेखकः अजिजुल्लाह अन्सारी
ह्वाट्स एपः +9779845042004

                मृत्यु एउटा यस्तो सत्य हो जसलाई अस्वीकार गर्ने सामथ्र्य कसैमा छैन । कुनै समाज, देश, धर्म, सभ्यता वा संस्कार होस् सबैमा केही आपसी मतभेदहरु अवश्यै पाइन्छ तर मृत्युको बारेमा कुनै मतभेद छैन । मृत्युले सबैलाई एक दिन अङ्गालो मार्ने कुरामा सबैजना विश्वस्त छन् । मानव जाति मात्र होइन जनावर तथा चरा चुरुङ्गी पनि यस सत्यताका अपवाद होइनन् । गुडिरहेको गाडी देखेर बाटोमा हिंडिरहेको जनावर पनि भाग्छ । यो हो मृत्युको आतंक ?
                सन् २००७ CIA को रिपोर्ट अनुसार प्रत्येक सेकेण्ड २ जना व्यक्तिको मृत्यु हुने गर्दछ । एक दिन हामीहरु पनि यस तथ्याङ्कलाई कायम राख्न मद्दत गरेका हुनेछौ । कुनै पनि उमेरको व्यक्ति होस् धनी वा गरीब, राजा होस् या प्रजा, सामाजिक कार्यकर्ता होस् वा कुकर्मी उच्चअधिकारी होस् वा चप्रासी हरेकलाई मृत्युको निमन्त्रणा आउने नै छ ।
                कहाँ छन् ती राजा महाराजाहरु, अर्बपति शक्तिशाली व्यक्तिहरु ? आफैलाई ईश्वरभन्न लगाउने फिरऔन, अथाह धन सम्पतिको मालिक कारुन, विश्वमा राज गर्ने सिकन्दर कहाँ गए ? आफ्नो खोजले विश्वलाई चकित बनाईदिने ती बैज्ञानिकहरु कहाँ विलिन भए ? आफ्नो कलाले सबलाई आकर्षित पार्ने कलाकारहरु के भए ? आफ्नो सुन्दरतामाथि गर्व गर्ने ती विश्व सुन्दरीहरुको के हाल भयो ? ती आँखाहरु जसको बखान गर्न कविहरु थाक्दैन थिए, ती नजरहरु जसका उठ्नासाथ कैयौं मुटुका धड्कन बढेर जान्थ्यो, आज तिनीहरु माटोभित्रका कीराको बलि चढे । उनीहरुको सौन्दर्यले मृत्यु दिने फरिश्ताको आँखालाई लोभी बनाउन सकेन । ज्याक्सनको कलाले मृत्युलाई नचाउन सकेन, हिटलरको क्रुरताले काललाई डराउन सकेन । न्युटनको नियमले कालको चाललाई थाम्न असफल रह्यो । शेक्सपियरको कृतिमा मृत्युले रमाउन मानेन । मृत्युले जातीय तथा रङ्गको भेदभाव नगर्ने कुरालाई पूष्टि गर्दै नेलशन मण्डेलालाई पनि खुला हृदयका साथ अङ्गालो मार्यो । रक्त संचार प्रकृया पत्ता लगाउने इब्ने नफिसको शरीरको रक्त संचार रोक्न पनि मृत्युलाई दया आएन । मृत्युमाथि पनि शासन गर्ने महान शासक ईश्वरले भनिसकेका छन् प्रत्येक प्राणीले मृत्युको स्वाद चाख्नुपर्छ। (कुरआन ३ः१८५)
यस सत्यलाई अझ प्रगाढ बनाउँदै भनियो, धर्तीमा बस्ने सबै प्राणीहरु नष्ट हुनेछन् । केवल तिम्रा उच्चतम तथा महानतम् पालनकर्ताको अस्तित्व बाँकी रहेनछ । हे जिन्न र मनुष्य ! तिमीहरु आफ्ना पालनकर्ताका कुन कुन वरदानलाई झुठ्लाउँछौ ।”(कुरआन ५५ः २६२८)
                मृत्युबाट कुनै पनि कवच, कुनै पनि सेनाले कसैलाई पनि बचाउन सक्ने छैन । जहाँ भएपनि मृत्यु आईलाग्ने छ । तिमीहरु जहाँ सुकै बस, चाहे त्यो मजबुत किल्ला नै किन नहोस् मृत्युले तिमीलाई गाँज्ने नै छ ।” (कुरआन ४ः७८)
मृत्यु किन ?
                मृत्यु जीवनको अन्त्य होइन । यो एउटा नयाँ जीवनको शुरुवात हो । मृत्युले यस जीवनको सही उद्देश्यलाई उजागर गर्दछ । मृत्यु र जीवनको उद्देश्यको बारेमा ईश्वरको घोषणालाई स्मरण गर्नुहोस् ।    जसले (ईश्वरले) मृत्यु तथा जीवनको सृष्टि गरे ताकि तिमीहरुको परीक्षा लिएर हेरुन् कि कसले राम्रो काम गर्छ ।” (कुरआन ६७ः२)
मृत्युको क्षण
                मृत्यको समय निर्धारित छ र त्यो आफ्नो समय पूरा भएपछि अवश्य आउने छ । अनि जब त्यो निर्धारित म्याद आईपुग्छ तब तिनिहरु न एकपल पछि हट्न सक्ने छन् र न अघि नै बढ्न सक्नेछन् ।” (कुरआन १६ः६२)
हामी मृत्युका विभिन्न उदाहरणहरु देख्छौं केहि दुखद हुन्छन् भने केहि सुखद । हामी यही चाहन्छौं कि हाम्रो अन्तिम क्षण सुखद होस्, शान्तिपूर्ण मृत्यु । अरुको मृत्युको अवस्था देखेर अनुमान लगाउने प्रयास पनि गरिन्छ कि यो सुखद मृत्यु हो या दुखद् । तर वास्तविकता हामीले बुझेको जस्तो नहुनसक्छ । मृत्युले आत्मा र शरीरको बिछोड गराउँदछ तसर्थ शरीरको अवस्थाले आत्माको स्थितिलाई प्रतिबिम्बित नगरेको हुनसक्ला । वास्तवमा मृत्युपछि आत्माको स्थितिले नै कसले कतिसम्म आफ्नो जीवनको उद्देश्यलाई पूरा गरेको छ भन्ने कुराको बोध गराउँनेछ ।
                मुहम्मद (स.) ले भन्नुभयो जब आस्थावानको मृत्युको समय हुन्छ उज्वल अनहार भएका दूतहरु स्वर्गबाट कफन र सुगन्धित इत्तरकासाथ आउँछन् । मृत्युका दूत टाउको नजिक आएर बस्छ र भन्छ हे सत्कर्मी आत्मा ईश्वरको दया तर्फ निस्केर आऊर त्यो आत्माबिना कुनै दुख कष्ट देहत्याग गर्छ । तर पापीहरुका मृत्युको समय क्रुर अनुहार भएका दूतहरु कडा र अति खराब कपडा लिएर आउँछन् । मृत्युका दूत त्यस व्यक्तिको टाउको तिर बसेर भन्छ हे पापी आत्मा अल्लाहको रीस र क्रोध तर्फ हिडतर त्यो आत्मा निस्कन चाहदैन । त्यसपछि क्रुरताका साथ अति दुख कष्ट दिएर आत्मा झिकिन्छ । (अहमद)
                गरुड पुराणले यस अवस्थालाई यी श्लोकहरुमा बयान गर्दछ सयवटा बिच्छुहरुले डंसेको जस्तो पीडा हुन्छ । (गरुड पुराण १ः२८) । त्यस समय दुबै हातमा फन्दा र दण्ड धारण गरी नग्न दाँतहरु कटकटाउँदै काधपूर्ण आँखा भएका यमराजका दुई भयंकर दूत नजिक आउँछन् । आफ्नो पञ्चभौतिक शरीरबाट हायहाय गर्दै तथा यमदूतहरुद्वारा समातिएको त्यो अङ्गुष्ठ मात्र प्रमाणको पुरुष आफ्नो घरलाई हेर्दै यमदूतहरुद्वारा यातनादेहले ढाकिएर घाँटीमा बलपूर्वक फन्दा बाँधेर सुदुर त्यस मार्गमा यातनाका लागि लगिन्छ ।” (गरुड पुराण १ः३०३३)
                दुइजना व्यक्तिहरुको एउटा उदाहरण माथि बिचार गरांै जसले त्यस ठाउँमा पुग्नका लागि एकतर्फी टिकट लिए जहाँ उनीहरु कहिल्यै गएका थिएनन् । तिनीहरु मध्ये पहिलोले गन्तव्यको भाषा, संस्कृति, रितिरिवाज, मौसम, मुद्रा तथा अन्य आवश्यक जानकारी हासिल   गरी यात्राका लागि तयार भयो । र शान्तिपूर्ण यात्राका साथ गन्तब्य सम्म पुग्यो ।
                तर दोस्रो व्यक्तिले तयारीमा अल्छीपन देखायो र प्राप्त समय मोजमस्ती मै बितायो । जब यात्राको समय भयो तब ऊ एउटा अन्जान गन्तब्यमा पुग्यो । यात्रा पनि दुखद भयो र गन्तब्य पनि दुःखद । यस्ता व्यक्तिहरुको बारेमा ईश्वर भन्छन्ःयहाँसम्म कि जब तिनीहरु मध्ये कसैको मृत्यु निकट आउँछ तब उसले भन्छ हे पालनकर्ता ! मलाई फेरी फर्काइदेऊ ताकि आफूले छोडी आएको संसारमा गई केही सत्कर्म गरुँ । कदापि यस्तो हुँदैन । यो त उसले आफ्नो मुखबाट भनेको कुरा मात्र हो । अब यिनीहरुका पछाडि एउटा बरजख (पर्दा) हुनेछ त्यस दिन सम्मकालागि जुन दिन यिनीहरुलाई उठाईने छ ।” (कुरआन २३ः९९१००)
                जब ती व्यक्तिहरुसँग सोधिने छ तिमीहरुलाई के कारणले नरकमा पुर्यायो ?” तिनीहरुले भन्नेछन्– “हामी नमाज पढ्नेहरुमध्येका थिएनौं र अभावग्रस्तहरुलाई खाना ख्वाउँदैनथ्यौं । र सत्यविरुद्ध कुरा गर्नेहरुसँग हामी पनि कुरा गथ्र्यौं । र हामी बदला दिइने दिनलाई झुठो ठहर गथ्र्यौं । यहाँसम्म कि हामी माथि विश्वसनीय चिज (मृत्यु) आयो ।” (कुरआन ७४ः४२४७)
                सबैको मृत्युको समय निश्चित र निर्धारित छ । आवश्यकता यस कुराको छ कि हामीले यसकोलागि के कति तयारी गरेका छौँ, हामी विचार गरौं र आफ्नो समिक्षा गरांै ।प्रत्येक व्यक्तिले भोलिका निम्ति के अगाडि पठाएको छ भन्ने कुरामा बिचार गर ।” (कुरआन ५९ः१८)
जीवनको उद्देश्यः
के हामीले तिमीहरुलाई व्यर्थ (बिना कुनै उद्देश्य) मै सृष्टि गरेका छौं ? र तिमीहरु हामी तर्फ फर्केर आउने छैनौं भनी ठानेका छौं ?” (कुरआन २३ः११५)
                यो प्रश्न हाम्रो मस्तिष्कलाई सोंच्न आहवान गर्दछ कि के यस जीवनको कुनै उद्देश्य पनि छ ? वा यो मात्र केही समयका लागि मनोरञ्जनात्मक रुपमा खेलिने खेल जस्तै हो ? जुन स्वतन्त्रताको कुरा गरिन्छ त्यो स्वतन्त्रता वास्तवमै असिमित छ अथवा कुनै शक्तिले त्यसको सीमा पनि निर्धारण गरेको छ । त्यस सीमा भित्र बस्नै पर्ने बाध्यता छ त ? नबसे कसले के गर्ने सामथ्र्य राख्छ ? अवश्य पनि हामीले नचाहेमा हाम्रो कार्यक्षेत्रलाई कुनै सीमासम्म सीमित पार्ने कसैको सामथ्र्य छैन तर त्यो शक्तिको बारेमा के विचार छ जसलाई सब कुराको सामथ्र्य छ । हो त्यस ईश्वरलाई पनि यो पूर्ण अधिकार छ कि उसको सीमाको उलङ्घन गर्नेलाई नर्कको दन्कदो आगोले स्वागत गरिओस् र उसलाई रोक्ने कोही छैन । त्यही सर्वशक्तिमानले एउटा उद्देश्यका साथ मानवजातिको सृष्टि गरे आफ्नो किताबमा भनेका छन् र मैले जिन्न र मानवलाई केवल आफ्नो उपासनाकालागि सृष्टि गरेको हूँ ।” (कुरआन ५१ः५६)
                कुनै पनि कार्य ईश्वरले निर्धारित गरेको सीमा र कानुन भित्र रहेर गरियो भने त्यो उपासना होस् या प्रार्थना होस्, व्यापार होस् वा अन्य कुनै पनि क्षेत्रको काम । यो जीवन एउटा परीक्षा हो जुन मृत्युसंगै समाप्त हुन्छ । जसको नतिजा मृत्युपछि पाइनेछ । मृत्यु पछि थप कुनै  मौका पाइने छैन । पश्चतापकालागि त्यो समय धेरै ढिलो भइसकेको हुनेछ ।
फैसलाको दिन
                त्यो मृत्यु जसबाट तिमीहरु भाग्दछौ त्यसले तिमीहरुलाई अँठ्याएरै छोड्ने छ । फेरी तिमीहरुलाई अदृश्य एवं दृश्यका ज्ञाता (अल्लाह) समक्ष पेश गरिनेछ । अनि उनले तिमीहरुलाई बताउने छन् कि तिमीहरु के गरिरहेका थियौ ।” (कुरआन ६२ः८) । र जब चिहानहरु खोलिनेछन् तब प्रत्येक व्यक्तिले अगाडि पठाएको र पछाडि छोडेको (कर्महरु बारे) थाहा पाउनेछन् ।” (कुरआन ८२ः४५)
                ईश्वरले मानवको सृष्टि गरी स्वतन्त्रता प्रदान गरे साथै असलखराब छुट्टयाउने विवेक र सामथ्र्य पनि दिए । एउटा सीमा निर्धारण गरिदिए र यसरी हामीलाई हाम्रो कर्मका लागि जिम्मेवार बनाए र एउटा फैसलाको दिन कायम गरे जुन न्यायको माग थियो ताकि सत्कर्म गरी उद्देश्य पुरा गर्नेहरुलाई पुरष्कृत गरियोस् ।
के हामी आज्ञाकारीहरुसित अपराधीहरु झैं व्यवहार गर्नेछौं त ? आखिर के भएको छ तिमीहरुलाई ? तिमीहरु कस्तो निर्णय गर्दा रहेछौ ?” (कुरआन ६८ः३५३६)
                सबैले यस संसारमा गरेका कार्य रेकर्ड गरिदैछ र त्यस दिन सबैलाई त्यो रेकर्ड अनुरुप नतिजा पत्र प्रदान गरिनेछ । र कर्मपत्र (तिमीहरु समक्ष) राखिनेछ । त्यस समय तिमी देख्नेछौ, अपराधीहरु त्यसमा लिखित कुराहरुप्रति डराईरहेका हुनेछन् र भन्नेछन् हाय हाम्रो दुर्भाग्य ! कस्तो अचम्मको कर्मपत्र ! यसले त हाम्रा सानाठूला कुनैपनि कार्यलाई नलेखी छोडेकै छैन ।र जे जति तिनीहरुले गरेका हुनेछन् ती सबै (त्यसमा) उपस्थित पाउनेछन् । र तिम्रो रबले कसैमाथि अत्याचार गर्ने छैनन् ।” (कुरआन १८ः४९)
                मानव आश्चर्य चकित हुनेछ त्यस किताबको शुद्धता देखेर । यहाँसम्म कि त्यसमा त्यो कुरा पनि हुनेछ जुन हामी बिर्सी सकेका हुनेछौं । अल्लाहले त्यसलाई सुरक्षित राखेका छन् र तिनीहरुले चाँहि त्यसलाई बिर्सेका छन् ।” (कुरआन ५८ः६)
                गरुड पुराणमा भनिएको छधर्मराज, चित्रगुप्त, श्रवण, र सुर्य आदि मनुष्यको शरीरमा स्थित सम्पूर्ण पाप र पुण्यहरुलाई पूर्णतया हेर्दछन् ।” (गरुड पुराण ३ः१७) ।
                चित्र गुप्तका यस प्रकारका बचनहरु सुनेर ती पापीहरु आफ्नो कर्मको विषयमा सोंच्दै निश्चेष्ट भएर चुपचाप बसिहाल्छन् ।” (गरुड पुराण ३ः३०)
                हाम्रा सम्पूर्ण  कर्मको रेकर्ड राखिदैछ र त्यस दिन सम्पूर्ण मानव जाति सामु हाम्रो सम्पूर्ण  कार्य प्रस्तुत गरिनेछ । कुनै काम गर्ने बेला हाम्रो ध्यान यसतर्फ पनि गएको भए ?
                त्यस फैसलाको दिन माथि शंका गर्ने अथवा विश्वास नराख्ने व्यक्तिहरुको जवाफ इश्वरले स्वयं दिएका छन् –“यी सडे गलेका (कुहिएका) हाडहरुलाई कसले जीवित पार्न सक्छ ? भनिदेऊ तिनलाई उनैले जीवित पार्नेछन् जसले तिनलाई पहिलो पटक सृष्टि गरेका थिए । उनी प्रत्येक सृष्टिका ज्ञाता हुन् ।” (कुरआन ३६ः७८७९)
                ईश्वरले जीवित मात्र पार्दैनन् प्रत्येक अंगलाई ठीक ठीक बनाई दिन्छन्, यहाँसम्म कि औंलाका चिन्हहरु पनि के मानिसले यो ठानेको छ कि हामी उसका हाडहरु एकत्रित गर्ने छैनौं किन नगर्नु हामी त उसका औंलाका जोर्नीहरु समेत जम्मा पार्ने सामथ्र्य राख्छौं ।”   (कुरआन ७५ः३४)
स्वर्ग र नर्क
जस कसैले पनि सत्य ईश्वरको उपासना ग¥यो र उनीसँग कसैलाई साझेदार ठह¥याएन तथा सतकर्म ग¥यो भने फैसलाका दिन उसलाई स्वर्गमा प्रवेश गराइनेछ ।
                मुहम्मद (स.) ले भन्नुभयो कि अल्लाहले भनेका छन् मैले आफ्ना सत्कर्मी बन्दा (भक्त)हरुका लागि यस्तो तयार पारेको छु जसलाई कुनै आँखाले न देखेको छ, न त्यसको बखान कुनै कानले सुनेको छ र न मानवले त्यसको कल्पना नै गर्न सक्नेछ ।
                कुरआनमा ईश्वर भन्छन्, स्वर्गका बासिन्दाहरु त साँच्चीकै रमाईलो गर्नमा व्यस्त हुनेछन् । उनीहरु र उनका पत्नीहरु छहारी मुनि उच्च पलङ्गमाथि सिरानीमा अडेस लागेका हुनेछन् । उनीहरुका लागि त्यहाँ हरेक किसिमका फलहरु र तिनीहरुले चाहेका चीजहरु हुनेछन् । उनको दयालु पालनकर्ताको तर्फबाट सलाम भनिने छ ।” (कुरआन ३६ः५५५८)
                यसको विपरित एकेश्वरवादलाई अस्वीकार गर्ने तथा कुकर्मीहरुलाई नर्कमा प्रविष्ट गराईनेछ निसन्देह नर्क (उदण्डहरुलाई) होमिरहेकोछ । त्यो उदण्डहरुको बासस्थान हो । जहाँ तिनीहरु युगौंसम्म रहनेछन् । त्यहाँ तिनीहरुले न शीतलताको कुनै स्वाद चाख्नेछन् न कुनै पेय नै । सिवाय उम्लदो पानी र रक्तपीपको । यो हो पूर्ण बदला । तिनीहरु हिसाबकिताब माथि विश्वास राख्दैनथे। र हाम्रा आयतहरुलाई बिलकुल असत्य ठहर्याउँथे जब कि हामीले प्रत्येक कुरा लेखेर सुरक्षित राखेका छौं । अतः (यातनाको स्वाद) चाख । हामी तिनीहरुको यातनामा नै अभिवृद्धि गर्दै जानेछौं ।” (कुरआन ७८ः२१३०)
                यहि हो त्यो नर्क जसको बाचा तिमीहरुसित गरिएको थियो । अतः तिमीहरुले गर्दै  गरेको अनास्थाले गर्दा आज यस (नर्क)मा जाऊ ।” (कुरआन ३६ः६३६४)

                जीवनको उद्देश्य प्रष्ट छ । लक्ष्य पनि लुकेको छैन । बाटो निर्धारण गरिसकिएको छ । मृत्युबाट भाग्ने कुरै आएन । छनोट र फैसला हाम्रो हातमा छ । यस जीवनमा एक ईश्वरको आदेश पालना गरी सत्कर्म गरेर सदासर्वदा रहने स्वर्गको छनोट गर्ने अथवा यस संसारमा ईश्वरले निर्धारण गरेका प्रत्येक सीमा उलङ्घन गर्ने र मनलागि गरी सदासर्वदाका लागि कष्ठकर नर्कको छनोट गर्ने ?

No comments:

Post a Comment