Monday, October 10, 2016

दाइजो प्रथा वर्तमानको जटिल समस्या


विवाह हाम्रो जीवनको एउटा प्रमुख अंग हो जसबाट व्यक्तिगत र सामाजिक जीवनको आरम्भ हुन्छ । विवाहबाट नै मानव अस्तित्वलाई बचाई राख्न सहयोग पुग्दछ । अझ इस्लाम धर्मले त विवाहलाई सुन्नतको संज्ञा दिएको छ । मुहम्मद (स.) को भनाइ छविवाह मेरो सुन्नत हो र जो मेरो सुन्नतबाट मुख फेर्छ त्यो हामीबाट हैन ।विवाहलाई इस्लामले सरल, सहज र अति नै सादा बनाएको छ तर आज हाम्रो समाजको समिक्षात्मक अध्ययन गर्दा थाहा हुन्छ कि हामीले आज विवाहलाई कति जटिल र मुश्किल बनाएका छौं । जन्तीको लाम, भोज भतेर, अनावश्यक सजावट लगायतका कार्यहरुले विवाहलाई एउटा जटिल समस्या बनाइ दिएको छ । यसमा पनि केटी पक्षको ढाड भाच्ने काम गरेको छ दाइजो प्रथाले ।
आज हामी आफ्नो मानव समाजलाई एउटा सभ्य, शिक्षित र विकसित समाज भन्दछौं तर के हामी वास्तवमा शिक्षित भनिने अधिकार राख्दछौ ?  के हाम्रो सोच साच्चै नै राम्रो हुदैछ ? के हाम्रो सोच्ने तरिका बदलिदै छ ? के हामी सहीलाई सही र गलतलाई गलत भन्न सक्षम भएका  छौं ? के हामी कुरितीहरु विरुद्ध आवाज उठाउने क्षमता राख्दछौं ? के हाम्रो समाजबाट कुरिती, कुप्रवृतिहरु कम  हुदै गएका छन् ?
यदि होइन भने याद राख्नुहोस् हामीहरु शिक्षित भएका छैनौं । हामीहरु अहिले पनि एउटा  अन्धकार बाटोमा फसेका छौ र यसले हाम्रो बुद्धिमत्ता, सभ्यता र सोचमाथि प्रश्न चिन्ह उठाउदछ ।
दहेज अर्थात दाइजोजसको अर्थ विवाहको बेला केटी पक्षले केटा पक्षलाई दिने सरसामान, गरगहना तथा नगद रुपैयापैसा हो । आज हाम्रो यस शिक्षित समाजका कैयौनारीहरु विवाहको पर्खाइमा बुढेसकाललाई छोएका छन्  भने कयौआफ्नो मनमा विवाह र हातमा मेहन्दी  लगाउने सपना सहित यस जीवनबाट विदा भई रहेका छन् किनकी तिनीहरुका अभिभावकहरु दाइजो दिन असमर्थ छन् ।
कुरआन र हदीस (मुहम्मद (स.) ले भनेका र गरेका  कुराहरु) मा जहेजशब्द पाउन सकिदैन । हजरत मुहम्मद (स.) ले जति पनि विवाह गराउनु भयो दाइजोको रुपमा कुनै पनि वस्तु दिनुभएन र न लिनु नै भयो । यहासम्म कि आफ्नो छोरीहरुको विवाह गर्दा पनि कुनै पनि वस्तु दाइजोको रुपमा दिनु भएन । हजरत मुहम्मद (स.) का सहाबाहरुमा समेत दाइजो प्रथाको अस्तित्व पाइदैन । दाइजो र इस्लाम बीच कुनै सम्बन्ध छैन यो एउटा कुप्रबृति हो जुन गैर इस्लामी समाजबाट फैली आएर हाम्रो समाजमा पनि भित्रिएको छ ।
संसारको सुन्दरता, मानव बगैचाको बसन्त बहार, ममताको गर्मी, इमान (आस्था) पछिको सबैभन्दा ठुलो इश्वरीय वरदान नारी माथि शताब्दीयौं देखि दुव्र्यवहार हुदै आएको छ । इतिहास साक्षी छ नारीहरुको पहिले पनि हत्या हुन्थ्यो आज पनि हुन्छ । फरक यति मात्र छ कि पहिला जिउदै माटोमा दफनाइन्थ्यो भने आज विज्ञानको विकासले गर्भ अवस्थामै नारीको अस्तित्वलाई मेटाइन्छ । इस्लामभन्दा पहिले नारीहरुलाई आफ्नो मान प्रतिष्ठाको लागि मारिन्थ्यो तर इस्लामको उदयले नारीहरुलाई तिनीहरुले गुमाएका आफ्नो वास्तविक हक अधिकार र मान प्रतिष्ठा पुनः प्रदान गरायो ।
समय बदलियो, अवस्था बदलियो, मानिसहरुको सोच बदलियो र पहिलेको विकृतिले एउटा नया रुप लिएर यस मानव समाजमा पुनः प्रवेश ग¥यो । दिन प्रतिदिन रेडियो तथा टेलिभिजनले हाम्रा कानसम्म यो खबर आवश्य पु¥याउछ कि दाइजो नल्याएको आरोपमा कैयौं महिलाहरु आफ्नो बाच्ने अधिकारबाट बञ्चित हुदैछन् । हाम्रा कैयौं दिदीबहिनीहरुलाई छुरा प्रहार गरेर हत्या गरिन्छ भने कैयौंलाई जिउदै अग्निको भेट चढाइन्छ । कैयौं दिदीबहिनीहरु त दाइजोको चक्रव्युहमा फसेर शारीरिक तथा मानसिक यातना सहन नसकी आत्महत्या गर्न बाध्य हुन्छन् ।
दाइजो प्रथा कानुनी रुपमा अपराध भएपनि हाम्रो कमजोर कानुनले यसलाई थाम्न सकेको छैन । केही राक्षस र शैतानी स्वभावका मानिसहरुले कुरितीको जरो मजबुत पार्दै गरेका छन् ।
आज हाम्रो समाज सभ्य र युवावर्ग शिक्षित छन् भने हाम्रो देशका युवा वर्गले दाइजो विरुद्ध अभियान चलाउन किन कम्मर कसेका छैनन् ? शिक्षा र वैदेशिक रोजगारको सिलसिलामा कैयौं नेपाली युवाहरु खाडी मुलुक देखि पश्चिमी मुलुकहरुसम्म धाउने गरेका छन् । त्यहा  त यस किसिमको कुनै रिती तथा परम्परा छैन । विदेशी रिती अपनाउने युवाहरु दाइजो नलिने यो प्रथालाई किन अपनाउदैनन् ? यो युवावर्ग दाइजो दिनु र दिनु विरुद्ध एक जुट भई आवाज किन उठाउदैनन् ? यी लोभी युवाहरुलाई दाइजो लिई आफुलाई बिक्री गर्दा किन लाज  लाग्दैन ? अहिलेका युवाहरुले आफु भन्दा ती दिदीबहिनीहरुको ख्याल गर्नुपर्छ जसले दाइजोको फन्दामा परेर मृत्युलाई  अंगालेका छन् । दिनहु  हुने असंख्य नारीहरुको हत्यालाई युवावर्ग नै रोक्न सक्दछन् र यसका लागि युवाले आफ्नो घरबाट दाइजो प्रथाको अन्त्य गर्ने अठोट गर्नु पर्छ । यदि हामीले यो गर्न सकेनौ भने याद राख्नुहोस् कि ज्यान गुमाएका ती निर्दोष नारीहरुका हत्यारा हामी ठहरिने छौ ।
सबै अभिभावकहरु चाहन्छन् कि उनीहरुका  छोराछारीले सुखमय जीवन बिताउन् । यस अवस्थामा अभिभावकहरुले यो सोच्नुपर्छ कि शिक्षा  बिनाकोही पनि आत्मनिर्भर हुन सक्दैन । त्यसकारण यदि अभिभावकहरु आफ्ना छोराछारीको उत्तम भविष्य चाहन्छन भने उनीहरुलाई असल शिक्षा दिनुपर्दछ जसबाट उनीहरु जीवनमा आइपर्ने समस्याहरुसंग लड्न सकुन् । विवाह गर्न लागेका युवाले दाइजो भन्दा पनि एउटा शिक्षित र सभ्य केटीलाई प्राथमिकता दिनुपर्छ र देखाउनु पर्छ कि हामीहरु धनका लोभी र भोका होइनौ ।  यस्तोमा केटीहरुले पनि दाइजोको सिकार बनेका केटीहरुको ख्याल गर्दै साहस देखाउनु पर्छ र ती केटाहरुसग विवाह गर्न अस्वीकार गर्नुपर्छ जसले दाइजोको माग गर्दछन् । जबसम्म यो साहस नारीहरुमा आउदैन दाइजो प्रथालाई रोक्न सकिदैन र दाइजो विरुद्ध उठाइएका सम्पुर्ण कदमहरु अप्रभावकारी साबित हुनेछन् ।

                केही युवाहरुले दाइजो विरुद्ध आवाज उठाए पनि अभिभावकको दवाबले उनीहरुको आवाज मधुरो हुदैजान्छ । दिने बेलामा नगद तथा सामानहरु दिए र आज लिने समय आउदा कसरी दाइजो नलिनेभन्ने अभिभावकको तर्कमा युवाहरु चुप लागेर बस्नु पर्छ भने केही अभिभावकले दाइजोलाई आफ्नो मान र प्रतिष्ठा संग जोडेर हेर्दछन् । यदि छोरीलाई सरसामान दिएन भने समाजले के भन्ना ? समाजमा मेरो के इज्जत  रहनेछ ? यस्तो सोच भएका अभिभावकहरुसंग म आग्रह गर्न चाहन्छु कि तपाईहरु आफुबाट यो भ्रम निकाल्नुहोस् र आखा उठाएर संसारलाई हेर्नुहोस्, आज त्यो व्यक्तिको मान प्रतिष्ठा समाजमा बढी हुन्छ जसले विवाहमा दाइजोको लेनदेन गरेको हुदैन र विवाह सादा रुपमा सम्पन्न  हुन्छ । दाइजो बिनाको विवाहलाई नमुनाको रुपमा प्रस्तुत् गरिन्छ र पत्रपत्रिकाले पनि यसलाई मुख्य खवर बनाउदछन् । दाइजो प्रथा बढ्नुको एउटा प्रमुख कारण इस्लामले निर्धारण गरेको नारीहरुको पैतृक स

म्पतिमा अधिकार नदिनु हो । यदि नारीहरुले आफ्नो अंश पाएको भए दाइजो दिने अवस्था नै सृजना हुने थिएन । अभिभावकवर्गहरु याद राख्नुहोस्, दाइजो दिदैमा नारीहरुलाई तिनीहरुको अधिकारबाट बञ्चित गर्न सकिदैन । पैतृक सम्पतिमा अंश उनीहरुको अधिकार हो र दिएन भने अल्लाह समक्ष जवाफदेहि हुनु पर्नेछ । दाइजोको न्यूनीकरणको लागि धर्मगुरुहरुले समेत कडा कदम उठाउनु आवश्यक छ । धर्मगुरुहरुले त्यो विवाह गराउन अस्वीकार गर्नुपर्छ जसमा दाइजोको लेनदेन भएको हुन्छ ।

लेखकः अजिजुल्लाह अन्सारी
ह्वाट्स एपः +9779845042004

No comments:

Post a Comment