Monday, July 23, 2018

आदर्श आमा र पत्नी उम्मे सुलैम (रजि.)


-अजिजुर्रहमान्

umm+sulaimएक जना महिला अल्लाहका रसूल (स.)को सेवामा प्रश्न गर्नका लागि उपस्थित भइन् । त्यहाँ आमा आइशा (रजि.) पनि थिइन् । उनले प्रश्न गर्नुभन्दा पहिलो भनिन्ः अल्लाह हक (सत्य) कुरा गर्न लजाउदैनन् है ? फेरि भनिन्ः या रसुलुल्लाह (स.) महिला आफ्नो सपनामा त्यो कुरा देख्छिन् जुन एउटा पुरुषले देख्छ र आफ्नो शरीरमा त्यही देख्छिन् जुन पुरुषले देख्छ भने त्यो महिलाले के गर्नुपर्छ ? यो प्रश्न सुनेपछि हजरत आइशा (रजि.) रिसले चुर भएर भनिनः् “ यो प्रश्न गरेर तिमीले महिलाहरुलाई बदनाम ग¥यौ । तिम्रो हातमा धुलो लागोस् ।” यसको मतलब यो थियो कि यस्तो प्रश्न गर्नु महिलाको लागि अपमानको कुरा थियो । तर नबी (स.) ले आमा आइशा (रजि.) लाई संकेत गर्दै भन्नुभयो, “उम्मे सुलैम ! यदि महिलाले सपनामा यस्तो देखिन् भने उनले नुहाउनु पर्छ । यस्तो प्रश्न सोध्नु गलत होइन बरु नसोधी अज्ञानतामा जीवनयापन गर्नु नै वास्तवमा गलत हो ।
तपाईलाई थाहा छ, ती महिला को थिइन् जसले विना संकोच यस्तो प्रश्न गरेकी थिइन् ? उनी अल्लाहका रसूल (स.) लाई दुध खुवाएकी सानीआमा र अनस विन मालिक (रजि.) को आमा उम्मे सुलैम (रजि.) थिइन् । जसको खुट्टाको पाइलाको आवाज अल्लाहका रसूल (स.) ले जन्नतमा सुन्नुभएको थियो । उनी बहादुरीको एउटा यस्तो प्रतिक हुन् जो मुजाहिदहरुलाई पानी खुवाउन र घाइतेहरुलाई मलमपट्टी लगाउनको निम्ति युद्धमा भाग लिने गर्थिन् । जो त्यागको यस्तो नमुना हुन् जसले आफ्नो पतिसंग मिलेर दियो निभाएर पाहुनालाई खाना खुवाउथिन् र आफ्नो घरका सदस्यहरुलाई भोकै सुताउथिन् । उनको जीवनबाट सन्तानको प्रशिक्षणको लागि शिक्षा रहेको छ । इमान र आस्थामा कायम रहने पाठ, पतिसंग युक्तिसंग मामिला गर्ने शिक्षा र भाग्यमाथि विश्वासको सन्देश रहेको छ । आउनुहोस् उम्मे सुलैम (रजि.) को जीवनको एक झलक बुझौँ ।
उम्मे सुलैम (रजि.) ले हिजरते नबवी भन्दा पहिला नै इस्लाम स्वीकार गरेकी थिइन । उनी मदिनामा बस्ने मालिक बिन नजरकी पत्नी थिइन । इस्लाम स्वीकार गर्ने बेला उनको पति व्यापारको लागि बाहिर गएका थिए । जब उनको पति व्यापारबाट फकिए तब उनले इस्लाम स्वीकार गरेको कुरा बताइन् र इस्लामको दावत पनि दिइन् । उनको पतिले इस्लाम अस्वीकार गर्नुको साथै यहाँसम्म भने कि तिमी पथभ्रष्ट भएकी छौ । उम्मे सुलैम (रजि.) ले भनिन्, “म पथभ्रष्ट भएकी छैन, मैले त सत्य ईश्वर अल्लाहको पहिचान प्राप्त गरेकी छु ।” जति सम्झाए पनि उनको पति इस्लाम स्वीकार गर्नमा तयार भएनन् र कडा व्यवहार गर्न थाले । एक दिन मालिक विन नजर घरमा प्रवेश गर्दा उम्मे सुलैम (रजि.) ले छोरा अनम विन मालिकलाई कल्मा याद गराउदै थिइन । यो देखेर मालिक विन नजरले भने तिमी त विग्रियौ नै विग्रियौ मेरो छोरालाई पनि बिगार्दै छौ । उम्मे सुलैम (रजि.) ले भनिन्, आफ्नो छोरालाई बिगारी रहेको छैन बरु म उसलाई सभ्य र असल बनाउदैछु । म चाहन्छु कि मेरो छोरा पनि सत्य ईश्वर अल्लाहको दीन (धर्म) माथि अगामी दिनमा आस्था राखोस् ।
यो हो इस्लामको महानताको एहसास । चाहे जेसुकै होस्, बैवाहिक सम्बन्ध टुटोस् यो मन्जुर हुन्छ तर इस्लामको दामन हातबाट छुटोस् यो मन्जुर हुदैन । अतः जब मालिक विन नजरको उम्मे सुलैम (रजि.) माथि केहि बस चल्न सकेन तब उनी घरबाट निस्केर सीरिया तर्फ गए ।  उनी बाटोमा नै थिए कि कुनै शत्रुले उनको हत्या गरिदियो ।
यता उम्मे सुलैम (रजि.) इस्लाममाथि कायम नै रहिरहिन् र आफ्नो बच्चाको सही प्रशिक्षण गरिरहिन् । आमाको काख नै बच्चाको लागि पहिलो पाठशाला हो । बाल्यकालमा भएका प्रशिक्षण वा तर्वियतको प्रभाव सधैँ रहन्छ । आमाको ठूलो जिम्मेवारी यो हुन्छ कि आफ्नो बच्चालाई दीनको सही ज्ञान दिर्नु र बच्चादेखि नै उसको मनमस्तिष्कमा इस्लामी चेतना बसाउने कोशिस गर्नुपर्छ ।
अल्लाहको रसूल (स.) जब हिजरत गरेर मदिना जानुभयो तब सबैजनाले दीने इस्लामको लागि उहाँ (स.) को सेवामा केही न केही पेश गरे । तर यी आदर्श महिलाले सोचिन कि म दीनको लागि के गर्न सक्छु ? अतः उनी आफ्नो छोरा अनस (रजि.) लाई रसूलुल्लाह (स.) को सेवाको लागि लगिन र भनिन् मेरो छोरा अनस आजबाट हजुरको सेवामा छ । यसरी उनले उहाँ (स.) को सेवामा अनस (रजि.) लाई समर्पित गरिदिइन् ताकि अनस (रजि.) लाई राम्रो संगत मिलोस् र रसूलुल्लाह (स.) को राम्रो बानी व्यवहारको असर उनीमा आओस् र उहाँको आदेशहरुलाई याद गर्न सकोस् । अनस (रजि.) स्वयं भन्छन् कि मैले नबी (स.) को दश वर्ष सेवा गरेँ । यस बिचको समयमा उहाँले केही पनि भन्नुभएन कि तिमीले यस्तो किन ग¥यौ र यस्तो किन गरेनौ । मुहम्मद (स.) सबैलाई माया गर्नु हुन्थ्यो । यदि कसैले गल्ती गथ्र्यो भने उसलाई राम्ररी सम्झाउनुहुन्थ्यो ।
उम्मे सुलैम (रजि.) विधुवाको जीवनयापन गर्दै गर्दा मदिनाको एक समृद्ध व्यक्तिले त्यसबेला इस्लाम स्वीकार गरेको थिएन । एक दिन उनले उम्मे सुलैम (रजि.) को नजिक आएर निकाह (विवाह) को प्रस्ताव राखे । उम्मे सुलैम (रजि.) ले बडो होसियारी पूर्वक अबू तल्हालाई जवाफ दिइन, “तपाईँ जस्तो समृद्ध व्यक्तिलाई अस्वीकार गर्न सकिदैन तर कुरा यो हो तपाईँ काफिर हुनुहुन्छ र म मुस्लिम हुँ । त्यसैले म तपाईँसँग विवाह गर्न सक्दिन ।” अबू तल्हाले भने, “म तिमीलाई मोहर पनि दिन्छु ।” उनले सोधिन के दिनुहुन्छ ? अबू तल्हाले भने सुन र चाँदी दिन्छु । उम्मे सुलैम (रजि.) ले भनिन्, “मलाई सुन र चाँदीको इच्छा छैन र न मलाई यो सब चाहिन्छ । यदि तपाईँले इस्लाम स्वीकार गर्नुभयो भने यहि नै मेरो मोहर हुने छ । यसको अलावा मलाई कुनै वस्तुको आवश्यकता छैन ।” उनको अस्वीकार, निकाह नगर्नको लागि होइन बरु अस्वीकार यस कारणले गरिन् कि अबू तल्हा मुस्लिम थिएनन् । यदि उनले इस्लाम स्वीकार गरे भने निकाह गर्नमा कुनै संकोच थिएन । तर आज हाम्रो समाजलाई हेरौँ । मुस्लिम महिला होस् वा पुरुष गैरमुस्लिमसँग बिना संकोच विवाह गरिहाल्छन् । आखिर यस्तो किन हुदै छ ? यो सबै हुनुको एक मात्र कारण छ दीन (इस्लाम) को सही प्रशिक्षण र महानताको ज्ञान हाम्रो समाजमा नआउनु हो । तर यो स्वच्छ हृदय भएकी महिलालाई हेरौँ, उनले अबु तल्हालाई निकाह गर्न अस्वीकार गरिन र उनलाई इस्लामको दावत दिइन्, सम्झाइन्, बुझाइन् र भनिन् तपाईँ त्यहि मूर्तिको पूजा गर्नु हुन्छ जसलाई फलाना समुदायका दासले बनाउछ । यदि यसमा आगो लगाइयो भने जलेर खरानी बन्छ । यसले न कसैलाई कुनै लाभ पु¥याउन सक्छ न नोक्सान । यसमा यति पनि शक्ति छैन कि कसैले यसको अगाडिबाट केही खोसेर लग्यो भने न रोक्न सक्छ न केही भन्न सक्छ । त्यस्तो भगवानको पूजा किन गर्नु हुन्छ जुन यति लाचार छ र त्यो वास्तवमा ईश्वर पनि होइन । अबू तल्हा (रजि.) ले यस कुरामा धेरै गम्भिरता पूर्वक सोचविचार गरेर अन्त्यमा एक दिन उनले अल्लाहका रसूल (स.) निर गएर इस्लाम स्वीकार गरे । यसरी अबू तल्हा (रजि.) ले उम्मे सुलैम (रजि.) संग निकाह गरे । यो इस्लाममा पहिलो निकाह थियो जसमा मोहरको रुपमा इस्लाम स्वीकार गर्नु निर्णय गरिएको थियो । यहाँ शिक्षा त्यस्तो महिलाको लागि रहेको छ जसको पति दीन (इस्लाम) बाट टाढा छ । नमाज, रोजालाई कायम गर्दैन भने उनले उम्मे सुलैम (रजि.) को भूमिका निभाउन, आफ्नो पतिको सुधारमा कोशिस गरुन । त्यस्तै यहाँ उम्मे सुलैम (रजि.) ले निकाहको लागि धन, दौलतको शर्त राखिनन् न शर्त यो राखिन कि हुनेवाला पति रोजगारवाला छ कि समृद्ध छ । तर शर्त यो राखिन कि इस्लाम स्वीकार गरिहाल्नु, नेक बनिहाल्नु । यहि गुण हुनुपर्छ हरेक महिलामा ।
उम्मे सुलैम (रजि.) अबु तल्हा (रजि.) सँग शान्तिपूर्ण वैवाहिक जीवनयापन गरिरहेकी थिइन । केही महिना पछि घरको आशाको पूmल फुल्यो र उनको घरमा एउटा छोरा जन्म्यो जसको नाम उनले अबु उमेर राखिन । कुनै बेला मुहम्मद (स.) उम्मे सुलैम (रजि.) को घर जाँदा अबु उमेरसँग खेल्नुहुन्थ्यो । अचानक अबू उमेर बिरामी भए । आमा बुवाले हेरचाहमा कुनै कमी गरेनन् तर रोगको अवस्था झन विग्रिदै गयो । यता अबु तल्हा (रजि.) को बानी यस्तो भइसकेको थियो कि बिहान फज्रको नमाज पढ्नका लागि जान्थे अनि एकैचोटी दिउँसो तिर आउँथे र फेरि खाना खाएर जुहरको नमाजको लागि जान्थे अनि इशाको नमाज पढेर आउथे ।
एक दिन जब अबु तल्हा (रजि.) अल्लाहको रसूल (स.) सँग थिए, अबु उमेरको स्वास्थ्य एकदम बिग्रियो । जसबाट अबु उमेरको मृत्यु भयो । उम्मे सुलैम (रजि.) घरको सम्पूर्ण व्यक्तिलाई रुनबाट रोकिन र छर छिमेकमा सबै जनालाई भनिन् कि हेर्नुस् छोराको मृत्युको कुरा कसैले अबू तल्हा (रजि.) सँग नभन्नुहोला । म उहाँलाई आफै भन्नेछु । यता बच्चालाई कपडाले छोपेर घरको कुनामा राखिन र फेरि अबू तल्हा (रजि.) को लागि खाना बनाइन । जब राती भयो तब अबू तल्हा (रजि.) केही मानिसहरुलाई घरमा लिएर आए । अबू तल्हा (रजि.) ले घरमा प्रवेश गर्ने वित्तिकै छोराको बारेमा सोध्नु भयो । उम्मे सुलैम (रजि.) ले भनिन् पहिला भन्दा धेरै राम्रो  अवस्थामा छ ।
अबू तल्हा (रजि.) ले सम्झे कि शायद बच्चा निको भइसकेको होला । तर उम्मे सुलैम (रजि.) ले यस्तो शब्द प्रयोग गरेकी थिइन कि एक शब्दबाट दुईवटा अर्थ निस्किन्छ । उम्मे सुलैम (रजि.) ले सबै जनालाई खाना दिइन । जब सबै जना खाएर निस्किए तब उम्मे सुलैम (रजि.) सिंगार गरिन, खुश्बु लगाइन र आफ्नो पति अबू तल्हा (रजि.) को नजिक गइन । अबू तल्हा (रजि.) लाई खुशबुको सुगन्ध आयो तब उनलाई शारीरिक सम्बन्धको इच्छा भयो अनि सम्बन्ध राखे ।
अलिकति विचार गरौँ । उम्मे सुलैम (रजि.) सँग त्यही हृदय थियो जुन आजका महिलाहरुसँग छ जसमा आफ्नो सन्तानको प्रेम हुन्छ । यहाँ उम्मे सुलैम (रजि.) को बच्चाको मृत्यु भएको छ तैपनि अल्लाहको फैसलामाथि अलिकति पनि अपसोच छैन । यस्तो दृढ विश्वास र धैर्य छ । कुरा आएर यही सकिदैन । जब रातको एक हिस्सा बित्यो अबु तल्हा (रजि.) एकदम शान्त भए तब उम्मे सुलैम (रजि.) कति प्यारो तरिकाले उहाँलाई भन्छिन् । एउटा कुरा भनुँ ? अबू तल्हा (रजि.) भने, भन । उनी भनिन्, “यदि कुनै व्यक्तिले कसैको नासो लियो र त्यो नासो दिने व्यक्तिले आफ्नो सामान फिर्ता माग्यो भने के त्यसलाई इन्कार गर्न मिल्छ ? अबू तल्हा (रजि.) ले भने, नाई उसलाई इन्कार गर्ने कुनै अधिकार छैन । यो वास्तवमा सुलैम (रजि.) को भूमिका थियो । त्यसपछि उम्मे सुलैम (रजि.) ले भनिन्, त्यसो भए तपाईँको बच्चा अबू उमेर पनि तपाईँसँग अल्लाहको अमानत थियो । आज अल्लाहले फिर्ता लिए । अब बच्चाको कफन दफनको तैयारी गर्नुहोस् ।
यो कुरा सुन्नु थियो कि अबू तल्हा (रजि.) को आँखा रिसले रातो रातो भयो । उनले भने हामीले शारीरिक सम्बन्ध राख्दासम्म पनि यो कुरा किन गोप्य राख्योँ । यो अवस्थामा भन्दै छौ जब म जनावत (अपवित्र) अवस्थामा छु । अन्ततः उनले इनना लिल्लाहि व इनना इलैहि राजिऊन (हामी अल्लाहकै हौँ र उनी तर्फ नै फर्किनु छ) पढे र नबी (स.) को सामु गए र यो सम्पूर्ण घटना सुनाए । त्यसपछि अल्लाहका रसूल (स.) ले भन्नुभयो– “अल्लाहले तिम्रो यो रातलाई बरकत प्रदान गरुन् ।” त्यसपछि उम्मे सुलैम (रजि.) गर्भवती भइन । जब बच्चाको जन्म भयो तब सबैभन्दा पहिला नबी (स.) को सेवामा पठाइन । नबी (स.) ले उसको तहनीक (खुजुर चपाएर चुसाउने कार्य) गरेर उसको नाम अब्दुल्लाह राखे ।
यहाँ उम्मे सुलैम (रजि.) को विवेकतामाथि विचार गर्दा उनले आफ्नो पतिको अधिकारको कसरी ख्याल राखिन् र छोराको मृत्युको सुचना दिनका निम्ति कति राम्रो तरिका अपनाइन । आजका महिलाहरु भएको भए पति घरमा प्रवेश गर्ने वित्तिकै रुन थाल्थिन् र भन्न थाल्थिन् कि तपाई घरबाट यसरी गायब हुनुहुन्छ कि घरमा कसैको मृत्यु भए पनि थाहा हुँदैन । तर यहाँ उम्मे सुलैमले केही कमी गरिनन् बरु मृत्युको सूचना दिन यस्तो उपाय अपनाइन जसबाट उनका पतिलाई कुनै किसिकको परेशानी भएन । कसैलाई यस्तो सूचना सुनाउँदा हार्ट अट्याक पनि आउन सक्छ । त्यसैले हामीले होसियारी पूर्वक कदम चाल्नुपर्छ । अल्लाह सुब्हानहु तआलाले हामीलाई पनि उम्मे सुलैम (रजि.) जस्तै बन्ने र इस्लाममा पूर्णरुपमा प्रवेश गर्ने तौफिक दिऊन् । आमीन या रब्बुल्–आलमीन् ।

No comments:

Post a Comment