Saturday, July 21, 2018

सात महापापहरु


- मुहम्मद इब्राहीम खरेल

१) वास्तविक सृष्टिकर्ता अल्लाहलाई नमानी अरु कसैलाइ पुजा गर्न योग्य ईश्वर सम्झनु
7 sins                यो संसार सृष्टि गर्ने, पालन गर्ने र अन्तमा संहार गर्ने एक परम शक्तिशाली महिमावान ईश्वर हुन् भने पुजा पनि उनको नै हुनुपर्छ । किनकि तपाई सोच्नुहोस् यो सिंगो ब्रह्माण्डलाई हामीले बनाएको मूर्तिले सृष्टि गर्न सक्छ त भनेर मैले तपाईलाई सोधे भने तपाई अवश्य पनि भन्नुहुन्छ,“सक्दैन” । जब मूर्तिमा त्यो क्षमता छैन भने आखिर किन पुजा गर्ने ? यस सम्बन्धमा कुरआनमा भनिएको छ,“हे मानव हो ! एउटा उदाहरण बयान गरिन्छ; यसलाई अलिक ध्यानपूर्वक  सुन । अल्लाहलाई छोडी तिमीहरू जसलाई पुकार्छौ तिनीहरूले एउटा झिङ्गासम्म सृष्टि गर्न सक्दैनन् चाहे त्यसकोनिम्ति तिनीहरू सबै एकजुट नै किन नहोऊन् । र, कुनै झिङ्गाले तिनीहरूको कुनै वस्तु खोसेर लगेमा तिनीहरूले त्यसबाट त्यो वस्तु पनि छुटाउन सक्दैनन् । सहायता माग्नेवाला पनि दुर्बल र जोसित सहायता मागिन्छ त्यो पनि दुर्बल !” (कुरआन २२ः७३)


२) जादू टुना गर्नुः
                इस्लामी धर्मशास्त्र कुरआनमा लेखिएको छ,“तिनीहरूलाई राम्ररी थाहा थियो कि जो त्यस (जादू) को ग्राहक बन्यो परलोकमा त्यसका लागि कुनै हिस्सा हुने छैन । कति तुच्छ छ त्यो चिज जसको साटो तिनीहरूले आपूmलाई बेचे । आह ! तिनीहरूलाई यसको ज्ञान भइदिएको भए कति जाति ।” (कुरआन २ः१०२)
                त्यसैले जादु र टुनाबाट अल्लाहको शरण माग्नु पर्दछ । यस सम्बन्धमा कुरआनमा भनिएको छ,“भनिदेऊ ! म शरण पर्छु प्रातः कालका मालिकको । हरेक वस्तुको दुष्टताबाट (जोगिनको लागि) जुन उनले सृष्टि गरेका छन् । र, अन्धकारमय रात्रिको दुष्टताबाट (बच्न) जब त्यो फैलिन्छ । र, गाँठोमा झारफुक गर्नेहरूको दुष्टताबाट । र, ईष्र्यालुको दुष्टताबाट जब त्यो डाहा गर्छ ।”  (कुरआन ११३ः१–५)
                गाँठोमा झारफुक गर्नुको अभिप्राय यो हो कि उनीहरु समुहमा रहेर जादुटुना गर्दछन् । सुरह फलक र सुरह नास रातमा पढेर सुतेपछि उनीहरुको जादुटुनाले कुनै असर गर्दैन । जो व्यक्ति अल्लाहमाथि भरोसा गर्दछ उसले जादुटुनाबाट डराउनु पर्दैन ।

३) हत्या गर्नुः
                “र, जसले जानिबुझीकन कुनै आस्थावानको हत्या गर्छ, त्यसको सजायँ नरक हो जसमा ऊ सदासर्वदा रहनेछ । र, उसमाथि अल्लाहको प्रकोप तथा धिक्कार रहेको छ । र, अल्लाहले उसकोलागि कठोर यातना तयार पारेका छन् ।  (कुरआन ४ः९३)
                अर्काे ठाउँमा भनिएको छ,“अनि, अल्लाहले अवैध ठहर्यएको ज्यान लाई न्यायोचित कारण बिना नमार र अत्याचारपूर्वक मारिएका (व्यक्तिको) अभिभावकलाई प्रतिहत्याको माग गर्ने अधिकार हामीले प्रदान गरेका छौं । तर, त्यो अभिभावकले (बदलाको) हत्यामा सीमा उल्लङ्घन नगरोस्, निश्चय नै उसलाई सहयोग गरिनेछ ।” (कुरआन १७ः३३)
                अल्लाहको भनाई छ,“जो कसैले कुनै व्यक्तिको हत्या गर्छ जबकी हताहत भएको व्यक्तिले कसैको हत्या गरेको छैन वा देशमा विध्वंस मच्चाएको छैन भने सम्झ उसले सम्पूर्ण मानवजाति कै हत्या ग¥यो । अनि, जो कसैले कसैको ज्यान बचायो भने सम्झ उसले सम्पूर्ण मानवजातिलाई नै जीवन दियो ।” (कुरआन ५ः३२)
                अर्को ठाउँमा भनिएको छ,“र, तिमीहरू दरिद्रताको भयले आफ्ना सन्तानहरुको हत्या नगर । हामी नै उनीहरूलाई जीविका प्रदान गर्नेछौं र तिमीहरूलाई पनि । निस्सन्देह उनीहरूको हत्या महापाप हो ।”(कुरआन १७ः३१)

४) ब्याज लिनुः
                ब्याजको अर्थ हो लाभ वा फाइदा । अंग्रेजीमा यसलाई क्ष्लतभचभकत भनिन्छ । ब्याजको परिभाषा असल पूँजीमा बृद्धि हुनु हो । ब्याज केवल उधारोमा हुन्छ यसलाई कुरआनमा भनिएको छ,“ला रिबा इल्ला फिन्नस्या” अर्थात ब्याज केवल उधारो लेनदेनमा नै हुन्छ । जस्तै यदि कुनै व्यक्तिले साहुबाट रु. १,००,००० कर्जा लिन्छ र बार्षिक ५% साधारण ब्याज दिने करार हुन्छ भने वर्षको अन्त्यमा ऋणीले जम्मा रु. १,०५,००० साहुलाई तिर्नुपर्ने हुन्छ जसमा बढि तिरेको रकम रु. ५,००० नै ब्याज हो ।
अल्लाह तआलाको भनाई छ,“ती मान्छेहरू जसले ब्याज खान्छन्, (चिहानबाट) यसरी उठ्नेछन् जस्तो कि शैतानले छोएर उसलाई बौलाहा बनाएको होस् । यस्तो यसकारणले हुनेछ कि तिनीहरूले भन्दथे– “ब्यापार पनि त ब्याजजस्तै हो ।” जबकि ब्यापारलाई अल्लाहले वैध र ब्याजलाई अवैध ठह¥याएका छन् । अतः जो आफ्ना पालनकर्ताको तर्पmबाट आदेश प्राप्त भएपछि यस कार्यलाई त्याग्दछ उसले जेजति पहिले खायो, त्यो खायो । र, त्यस मानिसको मामला अल्लाहको हातमा छ । र, जुन मानिसहरू यस ब्याज खाने कार्यतर्पm फेरि फर्कन्छन् तिनीहरू नरकबासी हुन् जहाँ तिनीहरू सदा–सर्वदा रहनेछन् ।” (कुरआन २ः२७५)
                फेरी अर्को ठाउँमा भनिएको छ,“हे आस्थावानहरू हो ! बढाई–चढाई ब्याज नखाऊ र अल्लाहको भय राख ताकि तिमीहरूलाई सफलता प्राप्त होस् । अनि, त्यस अग्निको भय राख जुन काफिरहरूका निम्ति तयार गरिएको छ । र, अल्लाह एवम् ईशदूत (मुहम्मद स.) को आज्ञापालन गर ताकि तिमीहरूमाथि दया गरियोस् ।” (कुरआन ३ः१३०–१३२)
                कुरआनमा भनिएको छ,“अल्लाह ब्याजलाई मेटाउँछन् र दानमा अभिवृद्धि गर्छन् । र, अल्लाहले कृतघ्नहरू एवं पापीहरूलाई मन पराउँदैनन् ।” (कुरआन २ः२७६)
                कुरआनमा भनिएको छ,“यदि तिमीहरूले त्यसो गरेनौ भने सावधान ! अल्लाह एवं रसूलकोतर्पmबाट युद्धको आदेश छ । र, यदि तिमीहरू तौबा (प्रायश्चित) गर्छौ भने तिमीहरूका लागि तिम्रो मूलधन छँदैछ । न  तिमीहरू कसैको हक हनन् गर्नेछौ न तिम्रो हक नै हनन् गरियोस् । यदि तिम्रो ऋणी, अभावग्रस्त अवस्थामा छ भने त्यसलाई सुविधाजनक अवस्थासम्मका लागि अवसर देऊ र यदि तिमीहरू दानस्वरूप छूट दिन्छौ भने तिमीहरूकालागि झन् राम्रो हुनेछ, यदि तिमीहरू ज्ञान राख्दछौ भने ।” (कुरआन २ः२७९–२८०)”

५) अनाथको धन खानु
                अनाथ त्यो बालकलाई भनिन्छ जसको बुवाको देहान्त उसको बाल्यअवस्थामा भएको हुन्छ । अनाथले विभिन्न किसिमको सामाजिक एंव आर्थिक समस्या झेल्नुपर्दछ । जसको बुबाको देहान्त भएको छ र उसले धेरै सम्पति छोडेको छ भने यस्तो अवस्थामा उसको धनको रेखदेख गर्नको लागि एक व्यक्तिलाई नियुक्त गरिएको हुन्छ । उसको कर्तव्य हो कि त्यस अनाथको धनलाई बढाउने प्रयास गरोस् र त्यो रेखदेखको बदलामा उसको लागि जे उचित धनराशि निर्धारित गरिएको हुन्छ त्योभन्दा धेरै नलेओस् । कुरआनमा भनिएको छ,“अनाथको सम्पत्तिको नजिक पनि नजाऊ उचित तरिकाले बाहेक; यहाँसम्म कि ऊ आफ्नो परिपक्वताको उमेरमा पुगोस् । र, आफ्नो वाचा पूरा गर किनभने वाचाबारे अवश्य सोधपुछ हुनेछ ।” (कुरआन १७ः३४)
                “अनाथहरूको धन–सम्पत्ति उनीहरूलाई फिर्ता गर । र आफ्नो नराम्रो धनसित उनीहरूको उत्तम धन नसाट । र, अनाथहरूको धनलाई आफ्नो धनमा मिसाएर नखाऊ; निश्चय नै यो महापाप हो ।” (कुरआन ४ः२)
                जबसम्म अनाथ युवा अवस्थामा पुग्दैन तबसम्म उसको धनमालको रेखदेख गर । त्यस पुँजीलाई उचित स्थानमा लगाऊ ताकि उसलाई लाभ होस् । अनाथको धनलाई आफ्नो धनसँग मिलाएर ब्यापारमा पनि लगाउन सकिन्छ तर जे जति हिस्सा उसको पुँजीको प्रतिशतको हिसाबले लाभ पनि दिनुपर्छ ।
कुरआनमा भनिएको छ,“र, अल्लाहले तिमीहरूका लागि जीवनयापनको साधन बनाएको सम्पत्तिलाई तिमीहरू विवेकहीन अनाथहरूलाई नसुम्प । तर उनीहरूलाई त्यसबाट खुवाऊ, पहिराऊ र उनीहरूसित मीठो बोली बोल । बिहेको उमेर नहुन्जेल अनाथहरूको परिक्षण गर्दै गर । अनि जब तिमीहरू यो महसूस गर्छौ कि उनीहरू होशियार भइसकेका छन् तब उनीहरूका धनसम्पत्ति उनीहरूलाई नै सुम्पिदेऊ । ती अनाथहरू बालिग भइहाल्लान् भन्ने भयले हतारमा जथाभावी खर्च गरेर उनीहरूको सम्पत्ति नखाइदेऊ । जो अनाथको संरक्षक धनी छ त्यसले परहेज गरोस् र जो गरीब छ उसले  सामान्य चलन अनुसार उपभोग गरोस् । र, ती अनाथहरूको सम्पत्ति उनीहरूलाई सुम्पने बेलामा केही व्यक्तिहरूलाई साक्षी बनाऊ । र, हिसाबकिताबका लागि अल्लाह नै पर्याप्त छन् ।” (कुरआन ४ः५–६)
                “ज–जसले अनाथहरूको सम्पत्ति अन्यायपूर्वक उपभोग गर्दछन् तिनीहरू वास्तवमा आफ्नो पेटमा आगो भर्दछन् । अनि, तिनीहरू नरकको दन्कँदो आगोमा होमिनेछन् ।” (कुरआन ४ः१०)
                नबी (स.) ले आफ्ना दुईवटा औंला जोडेर त्यसतर्पm संकेत गर्दै भन्नुभयो,“म र अनाथको पालनपोषण गर्नेवाला स्वर्गमा यसप्रकार रहन्छौं ।” (सही बुखारी)
                एकजना मानिसले आएर नबी (स.) संग आफ्नो कमजोरीको बारेमा भन्यो,“मेरो हृदय धेरै कठोर छ ।” तब नबी (स.) ले भन्नुभयो,“अनाथको टाउकोमा हातले सुम्सुम्याऊ र निर्धनलाई भोजन गराऊ ।” (मुस्नद अहमद, ७५७६)

६) युद्धको मैदानबाट भाग्नुः
                युद्धको मैदानबाट भाग्दा आफ्ना साथीहरुलाई धोका हुन्छ र जसले यस्तो कार्य गर्दछ उसलाई काँतर भनिन्छ । काँतर व्यक्तिले आफ्नो ज्यान बचाउन अरु साथीहरुलाई संकटमा पार्दछ । यस्तो कार्यले साथीहरुमा साहस कम हुनुका साथै शत्रुहरुको मनोबलमा बृद्धि हुन जान्छ । फलस्वरुप आफ्ना साथीहरु शत्रुहरुको फन्दामा परी ज्यान गुमाउनु पर्नेहुन्छ । साथीहरुमा यस्तो एकता हुनुपर्छ कि मर्नु परेपनि सँगै मर्ने र बाँचे साथीलाई पनि बचाउने कोसिस गर्नु  पर्दछ । तर आफ्नो ज्यान बचाउन साथीलाई शत्रुको माझमा छाडेर भाग्नु हुदैन ।

७) पवित्र स्त्रीमाथि व्यभिचारको झुटो आरोप लगाउनुः
                यदि पुरुषले आफ्नी पत्नीलाई ब्यभिचारको आरोप लगाउँछ र त्यसमा चारजना साक्षी लिएर आउँदैन भने यो ठूलो पाप हो र ऊ सजायँको भागिदार हुन्छ । कुरआनमा भनिएको छ,“जसले पवित्र आचरण भएकी महिलाहरूमाथि आरोप लगाउँछन् अनि चारजना साक्षी पेश गर्न सक्दैनन्, तिनीहरूलाई अस्सी कोर्रा लगाऊ । र, तिनीहरूको गवाही कहिल्यै स्वीकार नगर । र, तिनीहरू नै हुन् अवज्ञाकारीहरू, सिवाय ती व्यक्तिहरूको जो त्यसपछि प्रायश्चित गर्छन् र आफ्नो सुधार गर्छन् । अल्लाह साँच्चिकै परम क्षमाशील एवं परम दयालु छन् ।” (कुरआन २४ः४–५)
                कुनै व्यक्तिहरूले आफ्ना पत्नीहरूमाथि आरोप लगाउँछन् तर तिनीहरूसित आपूmबाहेक कोही साक्षी छैन भने, तिनीहरूमध्ये एक (पति) को गवाही हुनेछ कि उसले चारपटक अल्लाहको कसम खाएर भनोस् कि निश्चयपूर्वक ऊ सत्यवादीहरूमध्ये हो । र, पाँचौं पटक यो भनोस् कि यदि ऊ मिथ्यावादीहरूमध्ये हो भने उसमाथि अल्लाहको अभिशाप परोस् । र, त्यस महिलाको दण्ड यसरी निवारण हुन सक्छ कि उसले चार पटक अल्लाहको कसम खाएर भनोस्– “निश्चय नै उनी  उसको पति) झूठाहरूमध्येका हुन् ।” र, पाँचौं पटक यो भनोस् कि यदि उनी (पति) सत्य हुन् भने ममाथि अल्लाहको प्रकोप परोस् ।” (कुरआन २४ः६–९)
                यसपछि उनीहरु दुईजना सदाका लागि पति पत्नीको नाताबाट अलग हुनेछन् । त्यस अवस्थामा उसकी पत्नीको गर्भ आफ्नो होइन भनेर भन्दछ भने त्यो बच्चा आमाको जिम्मामा आउँछ र बुबाको वंशबाट खारेज हुन्छ । कुनै पनि पवित्र नारीमाथि शंकाको भरमा झुटो आरोप लगाउनु हुदैन । तर चारजना साक्षीले देखेको छ भने मात्र त्यो कुरा प्रमाणित भएको  मानिन्छ । अन्यथा आरोप मान्य हुदैन । र झुटो आरोप लगाएकोमा इस्लामीक कानुन अनुसार आरोप लगाउनेवालालाई अस्सी कोर्रा हान्ने आदेश दिइएको छ ।

No comments:

Post a Comment