Monday, July 23, 2018

उज्यालोको खोजीमा


- मर्यम राई (हिरा)

2222536-3x2-940x627उज्यालो र अँध्यारोको मिलन कहिल्यै हुन सक्दैन । उज्यालो प्रकट हुने बित्तिकै अँध्यारो स्वयम त्यसबाट बिलिन भएर जान्छ र उज्यालो गएपछि अन्धकार स्वतः आइहाल्छ । संसारको कुनै पनि यस्तो रहस्यमय ठाऊँ छैन जहाँ अन्धकार र उज्यालो एकआपसमा मिलेर रहन सकेका होउन् । त्यस्तै सफलता र बिफलताका आ–आफ्नै पाटाहरु छन् । सफलता चुम्न सकिने बाटो धेरै साँगुरो र धेरै कठिन छ । त्यो बाटोलाई जो कोहीले प्राप्त गर्न सक्दैन तर बिफलताका बाटाहरु धेरै फराकिलो र विस्तृत छन्, जो सुकै पनि त्यस बाटोमा खुल्लम खुल्ला आज हिडिरहेका छन् । हाम्रो भौतीक शरिर रहुन्जेल हामी धेरै धन कमाउनु  ठूला ठूला महल बनाउनुलाई सफलता ठान्छौँ । धन नहुनु र आफ्नो जीवनस्तर माथि उकास्न नसक्नुलाई मानिसहरु आफ्नो बिफलताको संज्ञा दिनछन् । तर वास्तविकतामा त्यो मिल्न सक्दैन । एउटा सफल व्यक्ति बन्नको लागि कुनै पनि मानिसल उसको बाल्यअवस्थाबाटै धेरै संघर्ष र परिश्रम गरिरहेको देख्छौँ र केही सफल व्यक्तिहरुको जीवनी पढ्दा, सुन्दा, यो कुरा थाहा पाउन सक्छौँ । यसबाट प्रमाणित हुन्छ कि एउटा सही गन्तव्यमा लाग्न अथवा सत्मार्गमा हिड्न कती कठिन हुन्छ । त्यस्तो सफलताको मार्ग चुनेका व्यक्तिहरु भनेको सच्चा मुस्लिम हो जसले आफ्नो जीवनलाई कुरआन र हदीस अनुसार हिडायो र  अल्लाहको आदेश मुत्ताबिक चलायो । विफलताको मार्ग रोजेका व्यक्तिहरु ती हुन् जसले आजसम्म पनि अल्लाह तआलालाई चिन्न सकेका छैनन् र अल्लाह तआलाको सच्चा भक्तहरुमध्येका बन्न सकेका छैनन् । उनीहरु आज यो संसारको मोजमस्तिमा रुमलिरहेका छन् तर उनीहरु अत्यहीन पारलौकिक जीवनमा घाटा खानेहरुमा पर्नेछन् । यो सांसारिक जीवन क्षणिक जीवन ता पनि यो जीवन त्यो पारलौकिक जीवनमा सफलता प्राप्त गर्नको लागि धेरै महत्वपूर्ण छ । यो लोकमै जसले अल्लाहलाई चिन्न सक्यो त्यो व्यक्तिले नै पारलौकिक जीवनमा सफलता प्राप्त गर्न सक्दछ ।
सत्मार्गमा  हिड्नलाई धेरै कठिनाईसँग लड्न सिक्नुपर्छ जुन व्यक्तिले ती समस्याहरुको सामना गर्दै अगाडि लम्कन सक्छ तत्पश्चात मात्र ऊ सफलताको गन्तव्यस्थलमा पुग्न सक्छ । तर त्यस सफलताको गन्तव्यस्थलसम्म पुग्न जो कोहीले पनि कडा परिश्रम, त्याग र धैर्य गर्नैपर्छ । माथिको कुराको आधारमा सफलताको गन्तव्यस्थल भनेको एकमात्र ईस्लाम हो र त्यो सफलता प्राप्त गर्नको लागि धेरै धैर्य ,परिश्रम र केही फल प्राप्न गर्ने आशाले हामी एक अल्लाहमाथि आस्था (विस्वास) राख्छौँ । हाम्रो आस्थामा आक्षेप आउने कुराहरुमा हामीलाई कती कठिन अवस्थाहरु आउन सक्दछन् तर पनि हामी दत्तचित भएर हाम्रो सफलता सुनिश्चित छ भन्ने हेतुले लागि पर्छौ । हाम्रो सफलता अवश्य प्राप्त हुनेछ इन्शाअल्लाह ! त्यस्तै मलै तपाईहरुसमक्ष मेरो अन्धकारमा गुज्रिएको समयका केही अनुभव राख्ने जमर्को गरेकी छु । म पनि ईस्लाम अपनाउनु पुर्व एउटा अन्धकारको कठघेरामा रुमलिएकी थिएँ । त्यतिबेला मैले अल्लाहलाई चिनेकी थिइन र मेरो मनमा जहिले पनि एउटा संकोच भावना आइरहन्थ्यो । यो संसारको वास्तविकताबारे केही जान्न मन थियो । कहिलेकाही यस्तो लाग्थ्यो कि यो विश्व ब्रह्माण्ड कसरी बन्यो होला ? र यसको सृजनाकार कोही त हुनुपर्छ भन्ने कुरा । मेरो त्यो बालमस्तिष्कले न कहिल्यै ईस्लाम शब्द सुन्न पाएको थिायो न कही देखेको थियो । मलाई मेरो घरमा पुज्ने गरेका त्यो पितृपुजाको बारेमा विश्वास नै लाग्दैनथ्यो । त्यो त बच्चा खेलेको जस्तो आभाष हुन्थ्यो । पछि सत्यताकै खोजिमा विभिन्न चर्चहरुमा पनि जान थाले र म चर्चमा पनि लगभग ३-४ वर्ष दिदिसँगै गएँ तर बक्तिस्मा लिएकी थिइन । त्यतिबेला त्यसभित्र पनि केही विरोधाभाषजन्य कुराहरुलाई मैले नियालें । म अझै पनि सत्यताको नजिक पुग्न नसकेको जस्तो आभाष मलाई हुन्थ्यो । म त्यस समयमा सानी बालिका नै भए पनि मेरो त्यो बालमस्तिष्कले  किन किन  सत्यतालाई अझ बुझ्न सकेको छैन जस्तो लाग्थ्यो र एउटा शंका मनमा जहिल्यै उत्पन्न भइरहन्थ्यो । मेरी आमा कामको सिलसिलामा साउदी जानुभएको बेला नै सत्यतालाई बुझ्नुभएको कारण ईमान ल्याइसक्नु भएको थियो । त्यो मेरो लागि पनि सत्यतालाई बुझ्ने एउटा ठूलो अवसर खुल्यो अल्हम्दुलिल्लाह । समयको धेरै अन्तरालपश्चात मेरी आमासंग मेरो भेट भयो । त्यसै क्रममा मलाई मेरी आमाले ईस्लामको बारेमा बुझाउनुभयो । त्यस सुनौलो अवसरमा मैले इस्लामको बारेमा धेरै बुझ्ने मौका पाएँ । धेरै इस्लामीक किताबहरु पढें । ती किताबबाट पनि मैले धेरै कुरा बुझ्ने अवसर पाएँ । त्यतिबेला सत्यतालाई बल्ल बुझ्न पाएको जस्तो मलाई लाग्यो र भित्री मनबाट पुरै इस्लामप्रती पूर्ण विश्वास भयो । मैले वि.सं. २०६८ सालमा ईमान (आस्था)  ल्याएँ । म आफुले बिराएको अन्धकारको बाटोबाट उज्यालो बाटोतर्फ फर्कें । इस्लाम अपनाउनु भन्दा पहिला मेरो जति पनि भ्रमहरु थिए ती भ्रमहरु अहिले आएर समाप्त भएका छन् । सबै मेरा मनमा उब्जिएका शंकोचनात्मक प्रश्नहरुको उत्तर आज मैले प्राप्त गरेकी छु अल्हम्दुलिल्लाह । जुन उज्यालोको खोजीमा हरदम प्रयासरत थिएँ त्यो अहिले मैले प्राप्त गर्न सफल भएकी छु । उज्यालोको खोजीमा मैले एक सुन्दर दीपरुपी शान्तिमार्ग देखाउने इस्लामलाई प्राप्त गरेकी छु । अहिले म सत्यतालाई ग्रहण गर्न सकेर धेरै खुशी छु । आज म जुन स्थानमा छु, जुन अवस्थामा छु अल्हम्दुलिल्लाह त्यो सबै अल्लाहको कृपाको कारणले गर्दा भएको हो र अल्लाह तआलाको कृपाको कारणले नै गर्दा नै मैले आज मेरा घरमा अन्य विभिन्न धर्म मान्नुहुने मेरा अभिभावकजन बाबा, दिदीहरु र दाईहरुले मैले इस्लामलाई अपनाएबापत पनि अझ धेरै माया गर्नुहुन्छ तर उहाँहरुले ईस्लामलाई अंगाल्न सक्नुभएको छैन । अल्लाहतआलाको हिदायत उहाँहरुमा छिट्टै पुगोस् । तपाईहरु सबैको दुवाको जरुरत छ । हामी विभिन्न धर्म मान्ने घरका सदस्यहरु भए पनि एउटा धर्मकै विषयलाई लिएर कहिलेकाही बहस, वादविवाद भएपनि धर्मको विषयलाई लिएर शारीरिक वा मानसिक तनाव मैले कहिले सहनु परेको छैन अल्हम्दुलिल्लाह  । मलाई मेरा घरका सदस्यदेखि लिएर अन्य समाजका मानिसहरुले एउटा हेयको दृष्टिले हैन कि झन माया, इज्जतको दृष्टिले हेर्नुहुन्छ । अल्लाहको कृपाको कारणले गर्दा झन् अहिले खुःशीको जीवन पाएकी छु, प्रकाशरुपी सत्मार्ग देखाउने एकमात्र सही जीवनव्यवस्था  इस्लामलाई प्राप्त गर्न सकेकी छु ।
ईस्लामको बारेमा, मुस्लिमहरुको बारेमा जुन नराम्रा भ्रमहरुको छाप मानिसहरुमा बसेको छ त्यो भ्रम हटाउने मेरो र तपाईहरुको पनि कर्तव्य हो र अल्लाह तआलाको वाणीहरुलाई सबै जनमानससमक्ष पु¥याउने हामी सबै मुस्लिमहरुको कर्तव्य हो । त्यो कर्तव्यलाई हामी सबैले पूरा गर्न जरुरी छ । इन्शाअल्लाह ! हामी सबैलाई अल्लाह तआलाले इस्लामको सत्य वाणीहरुलाई सबै जनमानससमक्ष पु¥याउने शक्ति प्रदान गरुन् । आमिन् ।

No comments:

Post a Comment